गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आग्रह गरेका छन्। कोरोना भाइरस सङ्क्रमित पाँचौँ र छैटौँ बिरामीको उपचार भइरहेको धौलागिरि अञ्चल अस्पतालमा अनुगमन र निरीक्षण गर्न बुधबार यहाँ आएका सचिव शर्माले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले प्रदान गरेको सेवालाई प्रशंसा गर्दै भने, “हजुरहरु मन, वचन र कर्म लगाएर उच्च मनोबलका साथ काम गर्नुहोस्, प्रदेश सरकारले तपाईंहरुको सुरक्षाका लागि सबै काम गर्न तयार छ।”
उनले धौलागिरि अञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने निर्णय भइसकेकाले यहाँ कुनै पनि सुविधाको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले राखेको मागलाई तत्कालै सम्बोधन हुने बताउँदै सचिव शर्माले भने, “यो प्रदेशको प्राथमिकताको अस्पताल हो, जनतालाई सेवा दिन यहाँ कुनै पनि कुराको अभाव हुन दिने छैनौँ। आवश्यकताका सबै माग पूरा हुन्छन।”
चिकित्सक र व्यवस्थापनले अस्पतालमा कोरोना उपचारका लागि स्वास्थ्य सामग्री, सुरक्षा कवच, दक्ष जनशक्ति र सवारी साधनको आवश्यकता भएकाले त्यसको व्यवस्था गर्न माग गरेका थिए।
चिकित्सक रामबहादुर खत्रीले कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई विशेष भत्ता र सुविधाको व्यवस्थाका साथमा रु ३० लाख बराबरको बिमासमेत गरिएको जानकारी दिए। प्रदेश आपूर्ति तथा तालिम केन्द्रका निर्देशक खिमबहादुर खड्काले आवश्यकताका आधारमा धौलागिरि अञ्चल अस्पताललाई सेवा, सुविधा थप गरिँदै जाने बताए।
सांसद मनकुमारी केसीेले अस्पतालको विकास र जनशक्तिका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताए। उनले प्रदेशको तर्फबाट प्राथमिकतामा राखेर यहाँको आवश्यकतालाई पूरा गर्न आग्रह गरे। रासस