कोरोना भाइरसको संक्रमणको रोकथामको लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारले निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहिवार बसेको बैठकले शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय गरेको हो।
सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउनको अबधी लम्बिएपछि विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् भने कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले काठमाडौंमा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा र्पुयाइदिने निर्णय भएको जानकारी दिए। छोटो दुरीको हकमा भने केही तय भइसेको छैन। उपत्यका बाहिरबाट काठमाडौं भित्रिन भने निषेध गरिएको छ।