१. शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय फिर्ता
काठमाडौं - काठमाडौं उपत्यकामा अलपत्र परेकालाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले परिवर्तन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका हुन्।
२. कैलाली र कञ्चनपुरबाट संकलन गरिएकामध्ये ६६ जनामा कोरोना देखिएन
कैलाली र कञ्चनपुरबाट संकलन गरिएका मध्ये ६६ जनाको नमुना परिक्षणमा कोरोना संक्रमण देखिएको छैन । संकलन गरिएको एक सय ९८ जनाको नमुनामध्ये हालसम्म ६६ जनाको परिक्षण सकिएको र ती सबैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
३. तातोपानी नाकाबाट भित्रियो २९ बाकस मास्क र ‘स्यानिटाईजर’
सिन्धुपाल्चाेक - चिनमा कोरोनाभाइरसको संक्रमण देखिएपछि बन्द गरिएको तातोपानी नाका बुधबारदेखी खुलेको छ। गत माघ १३ गतेदेखि बन्द गरिएको सिन्धुपाल्चोकको नाका खुलेसँगै १९ बाकस मास्क र १० बाकस ‘ह्याण्डस्यानिटाईजर’ नेपाल भित्रिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।
४. श्रमिकहरुका लागि आवस्यक सुरक्षा सामग्रि उपलब्ध गराउन ह्वीनको माग
उद्योग क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन समग्र उद्योग ट्रेड यूनियन नेपाल ९ह्वीन०ले अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत सम्पूर्ण श्रमिकहरुका लागि आवस्यक सुरक्षा सामग्रि उपलब्ध गराउन सरकारसँग माग गरेको छ । खाद्य र औषधि जस्ता अत्यावश्यक सामग्री उत्पादनका लागि मजदुरहरु उच्च जोखिम मोलेर काम गरिरहेको भन्दै ह्वीनले विश्व स्वास्थ्य संगठन९डव्लुएचओं० ले तय गरेको मापदण्ड अनुसारको आवश्यक सामग्रीको व्यवस्थापन गर्न माग गरेको हो।
५. सांसद यादवलाई क्वारेन्टिन बस्न आग्रह
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सांसद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्। सांसद यादव बुधवार सीमावर्ती भारतको रक्सौलमा रहेको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई भेट्न गएका थिए। उनी त्यहाँ गएको बिषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि सँगै गएका अन्यलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।
६. अवैतनिक महावाणिज्यदुतको सुविधा कटौती, अग्रवालबारे परराष्ट्र मौन
सरकारले नेपालमा बसेर काम गर्दै आएका विभिन्न देशका अवैतनिक महावाणिज्यदुतहरुको मुख्य कुटनैतिक सुविधा कटौती गरेको छ। एकजना महावाणिज्यदुतले आफूले पाएको सुविधाको दुरुपयोग गर्दै कालोबजारी गरेपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदुतहरुको सुविधा कटौती गर्ने निर्णय गरेको हो। प्रहरीले कालोबजारी गरेको प्रमाणसहित किर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदुत सुलभ अग्रवाललाई गत सोमबार पक्राउ गरेको थियो।
७. सप्तरीबाट १४ भारतीय नागरिक पक्राउ
कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले गरेको लकडाउनको समयमा नेपाल भित्रिएका १४ जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन्। जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले पक्राउ गरेको हो। अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा छन् भन्ने सुचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए। तर उनीहरुले मानिरहेका थिएनन्।
८. कोरोना रोकथाम : अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ। विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक हजारको सङ्ख्यामा परीक्षणको तयारी गरेको सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवीरुपमा केही अवधिका लागि उनीहरुको सेवा लिन सार्वजनिक आव्हन गर्न लागेको हो।
९. राईटपाथको अगुवाईमा यूकेमा नेपाली विद्यार्थीहरुलाई राहत वितरण शुरु
राईटपाथ करियर काउन्सीलिङले यूकेमा रहेका आफ्ना विद्यार्थीहरुको लागि राहत वितरणकार्य शुरु गरेको छ। आईईसी एब्रोड नेपाल र आईईसी एब्रोड यूकेको सहकार्यमा राईटपाथले लकडाउनबाट प्रभावित विद्यार्थीहरुको लागि खाद्यसामग्रीलगायत अत्यावश्यक सामानहरुको बन्दोबस्त मिलाएको हो। ‘‘हामीले हडर्सफिल्डका ५० जना भन्दा बढी विद्यार्थीहरुलाई आवश्यक पर्ने विविध सामग्री उपलव्ध गरायौँ’’ शैक्षिक परामर्श व्यवसाय गर्दै आएको राईटपाथका सञ्चालक फिलिप डिसीले भने, ‘‘यूकेमा लकडाउनका कारण संघर्षरत विद्यार्थीहरुलाई केहि राहत होस भनेर यो अभियान शुरु गरेका हौ।’’
१०. अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन
गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकाी छीन्। अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
११. बलात्कारको अभियोगमा एक युवक पक्राउ
बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिएका छन्।