राईटपाथ करियर काउन्सीलिङले यूकेमा रहेका आफ्ना विद्यार्थीहरुको लागि राहत वितरणकार्य शुरु गरेको छ। आईईसी एब्रोड नेपाल र आईईसी एब्रोड यूकेको सहकार्यमा राईटपाथले लकडाउनबाट प्रभावित विद्यार्थीहरुको लागि खाद्यसामग्रीलगायत अत्यावश्यक सामानहरुको बन्दोबस्त मिलाएको हो।
‘‘हामीले हडर्सफिल्डका ५० जना भन्दा बढी विद्यार्थीहरुलाई आवश्यक पर्ने विविध सामग्री उपलव्ध गरायौँ’’ शैक्षिक परामर्श व्यवसाय गर्दै आएको राईटपाथका सञ्चालक फिलिप डिसीले भने, ‘‘यूकेमा लकडाउनका कारण संघर्षरत विद्यार्थीहरुलाई केहि राहत होस भनेर यो अभियान शुरु गरेका हौ।’’ आफ्ना विद्यार्थीहरुलाई भौतिक र भावनात्मक रुपमा सहयोग पुर्याउने अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारे।
पहिलो चरणमा हडर्सफिल्डमा रहेका विद्यार्थीहरुलाई मात्र सहयोग उपलव्ध गराइएको जानकारी दिँदै डिसीले म्यानचेस्टरमा रहेका विद्यार्थीहरुलाई पनि सहयोग गर्ने तयारी भएको बताए। ‘‘अहिले म्यानचेस्टरमा जारी लकडाउनका कारण राहत वितरण गर्न असमर्थ भइरहेका छौँ’’ उनले भने, ‘‘छिट्टै त्यसको लागि पनि व्यवस्थापन मिलाएर अघि बढ्छौ।’’
राईटपाथले आफ्ना साझेदार संस्थाहरुको सहकार्यमा ५–५ दिनको फरकमा विद्यार्थीहरुलाई आवश्यक पर्ने चामल, अण्डा, तरकारी, पाउरोटी, दुध, चिनि, बटर, नुन, चाउचाउ, चाजा मासु, मसाला, टिस्यु पेपरलगायतका अत्यावश्यक सामान वितरण गर्दै आएको छ। ‘‘लकडाउनका कारण सुपरस्टोरहरु बन्द हुँदा पैसा भएर पनि सामान किन्न नसकिने अवस्था छ’’ डिसिले भने, ‘‘आफ्ना विद्यार्थीहरुको लागि यति गर्नु हाम्रो कर्तव्य नै हो।’’