काठमाडौं उपत्यकामा अलपत्र परेकालाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले परिवर्तन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका हुन्।
कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान जान दिने निर्णय गरेकाे सूचना सार्वजनिक भएकाे थियो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पनि आफ्नाे फेसबुक पेज मार्फत् समितिले गरेकाे निर्णय सार्वजनिक गरेकाे थियाे । तर पछि उक्त सुचना अपडेट गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले निर्णय फिर्ता भएकाे जानकारी गराएकाे थियाे । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकाे आधिकारिक भनिएकाे उक्त पेज अहिले फेसबुकमा भेटिंदैन ।
मन्त्री नेम्वाङले पर्याप्त स्रोत र साधन नभएकाले र संक्रमण फैलिने जोखिम झन बढ्ने भएपछि सरकारले निणर्य फिर्ता लिएकाे बताएका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपत्यका बाहिर जान दिने निर्णयकाे विरोध जनाएका थिए। पाेखरेलले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, "काठमाण्डौवाट वाहिर जानदिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन। लकडाउनको अर्थ लकडाउननै हो।वरु वेखर्चीलाई राहत दिने हो।"