नेपाल ओलम्पिक कमिटिले आइतबारदेखि खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा अनालाइनमार्फत सञ्चालन गर्ने भएको छ। शुक्रबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रबृद्धि पाएका खेलाडीहरु, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्स छलफल गरेपछि नेपाल ओलम्पिक कमिटिले यस्तो निर्णय लिएको हो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरु केही समस्यामा परेका भए सामाधान समेत गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको बताए। उनले भने,‘खेलाडी र कोचका लागि दैनिक सुचीसमेत तयार गरेर फलोअप गर्ने निस्कर्ष निकालेका छौंं। त्यसैगरी पोषणविद्यहरुसँग नियमित सम्पर्क गराएर खेलाडीको खेल अनुसारको डाइट दिनेलगायतको कार्य शुरु हुन्छ।’
त्यसैगरी नेपाल ओलम्पिक कमिटीले बनाएको डाक्टरको प्यानलले क्लोज मनिटरीङ्ग गर्ने छन्। कोभिड १९ का कारण नेपालमा ११ चैतदेखि लकडाउन भइरहेकाले खेलाडीहरु घरभित्रै रहेका छन्। जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राख्नका लागि ओलम्पिक विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत छलफल गरी शुक्रबार खेलाडी र प्रशिक्षकसँग छलफल गरेको हो।
छलफलको निस्कर्ष अनुसार काम भए नभएको अनुगमन गर्नका लागि तीन सदस्यको टिम बनाइएको छ। नियमन गर्ने टिममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा डाइरेक्टर चतुरानन्द बैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ रहेका छन्। एनओसीका अध्यक्ष श्रेष्ठले यो लकडाउनको समय भयभित नभइ होशियारीपूर्वक बस्ने समय भएको बताए। उनले ओलम्पिक २०२१ को २३ जुलाई देखि ८ अगष्टसम्म हुने भएकाले समय अवधि लम्बिएकोले यसलाई अवसरका रुपमा लिनका लागि परिस्थितीलाई बुझेर काम गर्नुपर्ने बताए।
ओलम्पिकका लागि ५ जुलाईसम्म अन्तिम इन्ट्रिको समय रहेको छ। सो भिडियो कन्र्फेन्समा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउन थालिएको पनि जानकारी दिए। ओलम्पिक दिपक विष्टले खेलाडीले जस्तो परिस्थितिमा पनि अभ्यास गर्न सक्नुपर्ने धारणा व्यक्त गरे। र खेलाडीहरुले घरमै बसेर अभ्यास गरिरहेको र समाजिक दायित्व पुरा गर्ने काम समेत भइरहेको जानकारी दिए।
सो छलफलामा किर्तिमानी पौडी खेलाडी गौरिका सिंहको समेत सहभागिता थियो। उनले कोचसँग अनलाइनमार्फत छलफल गरेर घरभित्रै ट्रेनिङ्ग गरिरहेको बताइन्। ओलम्पियन स्नेहा राणाले एथलिट ३ सय ६५ नेटवर्कमा खेलाडीलाई सहभागि हुन आग्रह गरिन्। त्यस्तै डा सरोज कृष्ण श्रेष्ठले घरभित्रै बस्ने र केहि समस्या भएर डाक्टर प्यानलसँग परामर्श लिन आग्रह गरे।
एनओसी अध्यक्ष श्रेष्ठले खेलाडी, प्रशिक्षकलाई केहि समस्या भएको खण्डमा सम्पर्कमा आउन आग्रह गरेका छन्। उनले नियमित रुपमा भिडियो कन्फरेन्समार्फत खेलकुदकर्मीसँग सम्र्पकमा रहने बताए। यस अघि खेलकुद संघ तथा अन्य सरोकारवालासँग नेपाल ओलम्पिक कमिटीले भिडियो कन्फरेन्स गरेको थियो। यो विषम परिस्थितिमा एनओसीले अभिभावकतव ग्रहण गरेको भन्दै खेलाडी प्रशिक्षकले खुसी व्यक्त गरेका थिए।