कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ। स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नपर्ने व्यवस्था गरिएको छ। जिल्लामा हालसम्म भारतबाट फर्किएका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन्।
यही चैत ९ गते घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्याथी क्वारेन्टाइनमा रहेका मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्म्छिरिङ गुरुङले जानकारी दिएका छन्। ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिएका छन्।
मनाङमा यसभन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताएका छन्। ‘दुबई, कतार, साउदी अरेवियाबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहे पश्चात् घर फर्किसकेका छन्’, उनले भने। जिल्लामा रहेका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनले जानकारी दिएका छन्।
‘अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरु औषधि र उपकरणबिना नै भए पनि खटिएको छ’, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भन्छन्, ‘औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो।’ जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ भने विदेशी पर्यटकसमेत रहेका छन्। रासस