प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझै कडाई हुने बताएका छन्। शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्समा कुरा गर्दै उनले लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका हुन्।
शनिबार बिहान ११ः३० देखि अपरान्ह ३ः४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट संचालन भएको भिडियो कन्फरेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासहरूको स्थिति जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै स्वयंसेवकहरूले स्वयंसेवी भावनाले कार्य गर्नुपर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए।
त्यस्तै उनले लकडाउनमा प्रशासनिक लापरबाही हुनै नहुने बताएका छन्। मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने र त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उनले छलफलमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध समेत गरेका छन्। उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन्। साथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन्।