कोरोनाभाइरस (काेभिड १९) को संक्रमणबाट विदेशमा रहेका १४ जना नेपालीहरुको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा बसोबास गर्दै आएका १४ नेपालीको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जना नेपालीको कोरोना भाइरसको कारण मृत्यु भएको हो।
त्यस्तै करिब ६ सय ८० जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। उनले अमेरिकामा मात्रै ५ सय बढी नेपाली कोरोना संक्रमित भएको जानकारी दिए।
यस्तै बेलायतमा १ सय बढी संक्रमित छन् भने स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ९, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ। अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ।