एजेन्सी- छोटो भिडियो क्रियटिङ एण्ड सेयरिङ एप टिकटकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध क्रियाशिल रहेका ब्यक्ति तथा संगठनहरुका लागिअर्बौं रुपैयाँ सहयोग गरेकाे छ। कम्पनीले कुल ३ सय ७५ मिलियन डलर अर्थात ४५ अर्व ५० कराेड रूपैयाँ हाराहारीकाे सहयोग उपलब्ध गराएको हो।
जसमा २ सय ५० मिलियन डलर आर्थिक सहयोग, १ सय मिलियन डलर कोरोनाविरुद्ध क्रियाशिल विभिन्न संस्था तथा संगठनहरुका लागि एड क्रेडिट र २५ मिलियन डलर सार्वजनिक स्वास्थ्य सामग्रीको प्रचारका लागि रहेको छ।
कम्पनीले उपलब्ध गराएको २५० मिलियन डलरलाई पनि हेल्थ हिरोज् रिलिफ फण्ड , कम्युनिटि रिलिफ फण्ड तथा क्रियटिभ लर्निङ फण्ड गरी मुख्य तीन कोषहरुमा विभाजन गरेको छ। कुल २५० मिलियन डलरको १५० मिलियन डलर ‘हेल्थ हिरोज् रिलिफ फण्ड’ अन्तर्गत उपलब्ध गराएको छ। यस कोषबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई आर्थिक सहयोगका साथै अन्य विभिन्न कुरामा सहयोग र्पुयाउने जनाएकाे छ।
त्यस्तै ४० मिलियन डलर रकम कम्युनिटि रिलिफ फण्ड मा जम्मा गरिएको छ। यस कोषको रकम भने स्वास्थ्य संकटको चपेटामा परेका समुदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गरिने कम्पनिले जनाएको छ। यसका साथै यो काषमा कम्पनीले थप १० मिलियन डलर रकम छुट्टै अनुदानको रुपमा उपलब्ध गराउने जनाएको छ।
त्यस्तै कम्पनीले बाँकि ५० मिलियन डलर रकम भने सामाजिक दुरी कायम गर्न सिकाउने तथा रचनात्मक शैक्षिक सामग्री बनाउने शिक्षक र गैर नाफामुखी संस्थाहरुका लागि सहयोग उपलब्ध गराएको छ।