काठमाडौं - पीसीआर बिधिबाट हालसम्म प्रयोगशालामा कुल ५ हजार १ सय ८४ वटा कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। संक्रमण देखिएका तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३७, ४४ र ५५ रहेको उनले बताए। परीक्षण गरिएका मध्ये तीन जना भारतीय नागरिक सहित हालसम्म १२ जनामा संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४ हजार २० वटा परिक्षण भएको छ। जस अन्तर्गत पछिल्लो २४ घन्टामा ६ सय २८ वटा परिक्षण भएको छ। प्रयोगशाला उपत्यका बाहिर १ हजार १ सय ६४ वटा परिक्षण भएको छ। र गत २४ घण्टामा उपत्यका बाहिर १ सय ६७ वटा परिक्षण भएको प्रवक्ता विकास देवकोटाले बताए।
त्यसैगरि हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ७ हजार ९ सय ७३ जना छन्। आइसोलेशनमा रहेका बिरामीको संख्या ८५ जना छ। काठमाडौँ उपत्यका भित्र १५ र काठमाडौँ उपत्यका बाहिर ७० जना रहेको उनले जानकारी दिए।
र्यापिड डाइग्नोष्टिक किटबाट सबै प्रदेशका सबै जिल्लाहरुमा पुगिसकेको जानकारी प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो। र्यापिड डाइग्नोष्टिक किटबाट हाल सम्म ३ हजार ३ सय २१ जनाको परिक्षण भैसकेको छ। साथै र्यापिड डाइग्नोष्टिक किट र पीसीआर दुबै प्रबिधि प्रयोग गरेर हाल सम्म ८ हजार ५ सय ५ जना को नमुना परीक्षण भैसकेको डा देवकोटाले जानकारी दिए।