जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै पास आवश्यक नपर्ने पेशा र सवारी साधनबारे जानकारी गराएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्दै पास सम्बन्धी विभिन्न नियमहरु जानकारी गराएको छ।
लकडाउनको समयमा पासको दुरुपयोग भएको उल्लेख गर्दै हालका लागि पास वितरणकार्य स्थगित गरिएको जानकारी दिँदै सुचनामा निम्न कुराहरु उल्लेख गरिएका छन्।
एम्बुलेन्सहरु, औषधी तथा औषधीजन्य वस्तु र स्वास्थ्य उपकरण बोकेका सवारीहरु तथा अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरुलाई पास आवश्यक पर्ने छैन्। तर, उनीहरुले आफ्नो परिचय पत्र भने अनिवार्य रुपमा बोक्नुपर्ने हुन्छ।
यो पनि पढ्नुहोसः ‘‘खोई त पास?’’
त्यसैगरी, खाद्यान्न, तरकारी, फलफुल, माछामासु, दुध र दुधजन्य पदार्थ, पानी, सरसफाईका वस्तुहरु, चिनी, तेल, पशुपंक्षीजन्य आहार ईन्धनजस्ता वस्तुहरुको ओसारपोसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुलाई पनि पासको आवश्यकता पर्ने छैन्। तर, यस्ता सवारीहरुले यात्रु ओसार्न पाउने छैनन्।
सुचनाअनुसार व्यक्तिगत समस्या, परिवार दुईतिर गाँउमा वा आमा बिरामी, काठमाडौंमा बस्न समस्या, भेटघाट, औषधी पुर्याउन पर्ने, काम बिशेषले आएकोले फर्कनुपर्ने जस्ता बिषय लिएर पास जारी नहुने हुँदा प्रशासन कार्यालयमा उपस्थित हुन तथा भिडभाड नगर्न अनुरोध गरिएको छ।
भाइरसले जात, समुदाय, वर्ग, पेशा आदी नचिन्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत सुचनामा अनुरोध गरिएको छ। यसैगरी तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, सिकिस्त बिरामी, अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितीमा नजिकको सुरक्षा ईकाईसँग आवश्यक समन्वय गर्न आग्रह गर्दै सुरक्षाकर्मीले आवश्यक सहयोग गर्ने जानकारी गराईएको छ।