बुटवल– बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा भेन्टिलेटलर र आइसियुसहित जडान गरिएको छ। उक्त विशेष अस्पतालमा चार भेन्टिलेटर र आठवटा आइसियु श्यया निर्माण भएका छन्।
सो अस्पतालको आज मुख्यमन्त्री शङ्कर पोखरेलले निरीक्षण गर्दै कोभिड–१९ रोगका विरुद्ध अहिलेसम्म प्रदेशमा देखिएको सावधानीलाई थप बलियो बनाउनपर्ने बताएका छन्। उनले प्रदेशमा निर्माण भएका यस्ता सुविधायुक्त स्वास्थ्य सेवाका संरचनाले जनतामा उपचार सेवा कहाँ पाउने भन्ने चिन्ता अन्त्य भएको बताएका छन्।
मुख्यमन्त्री पोखरेलले कोरोना सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय नै आवतजावतलाई नियन्त्रण र सामाजिक दूरी कायम गर्नु नै प्रभावकारी रहेको देखिएकाले यसप्रति प्रदेशमा सरकारको आदेशलाई जनताले सहजतापूर्वक पालन गरेकाले नै अहिलेसम्म सङ्क्रमण रोक्न सकिएको बताएका छन्। यस खालका संरचनाको निर्माणले अब प्रदेशलाई सुरक्षित राख्न सकिने कुराको मनोबल बढाएको बताउँदै महामारीमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर सेवा दिने स्वास्थ्यकर्मीले बिरामीको मनोबल उच्च राख्नेगरी काम गर्न अनुरोध गरेका छन्।
त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले सहकार्यमा समर्पित सबैलाई आभार प्रकट गर्दै स्वास्थ्यकर्मीको मनोबल बढाउने गरी सहयोग र सहकार्य जारी राख्न आग्रह गरेका छन्। प्रदेश सरकारले कोरोना सङ्क्रमणको उपचारका लागि प्रदेशअन्तर्गत चार स्थानमा विशेष अस्पताल निर्माण गर्ने निर्णयअनुसार बुटवलमा लुम्बिनी प्रदेशिक अस्पतालको मातहतमा रहने गरी बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो। अस्पताल निर्माणका लागि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ।
बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा ५० श्ययाको कोरोना विशेष आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा आइसकेको छ। यस अस्पतालमा हालसम्म ३६ जनाको उपचार भएको छ जसमध्ये ३५ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएको मेसु डाक्टर राजेन्द्र खनालले जानकारी गरेका छन्।
अस्पताल निर्माणका क्रममा भएको आर्थिक सहयोग दाताहरुको नामावली र रकम अस्पतालका अध्यक्ष भट्टराईले मुख्यमन्त्रीलाई जानकारी गराउँदै सहयोगको विवरण सार्वजनिक गरेका थिए। अस्पतालमा उपचार गराउन आएका एकजनाको भने उपचारका क्रममा निधन भएको छ। उनको कोरानाका कारण निधन नभएको रिपोर्ट यसअघि नै आइसकेको छ। रासस