चितवन– विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको र्यापिड डाइग्नोष्टिक परीक्षण–आरडिटी तीव्र पारिएको छ। जिल्लामा ३० जना सार्वजनिकसहित ६२१ जना होम क्वारेन्टाइनमा रहेका छन्। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाको परीक्षण शुरु गरिएको हो। उनले कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको जानकारी दिएका छन्। अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेका छन्। उनीहरुले पनि काम थालेको जानकारी प्राप्त भएको छ।
हालसम्म सबै स्थानीय तहमा गरिएका परीक्षणको नतिजा नेगेटिभ आएको छ।परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिएमा पिसिआर परीक्षण गरिनेछ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मङ्गलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका ६२१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ। हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना रहेका छन्। अरु सबै घरको क्वारेन्टाइनमा रहेका छन्।
भट्टराईले आरडिटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबै क्वारेन्टाइनबाट मुक्त हुने जानकारी दिएका छन्। रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिएमा पिसिआरका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको छ। यसैबीच मठ, मन्दिर, गुम्बा, चर्च जस्ता धार्मिकस्थलमा अनुगमन तीव्र पारिएको छ।
लकडाउनपछि ती स्थलमा बाहिरबाट मानिस आएर बसेको हुनसक्ने भन्दै अनुगमनलाई तीव्रता दिइएको हो। भट्टराईले त्यस्ता स्थलमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भएमा तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गरेका छन्। आइतबार दिउँसोबाट २४ घण्टाभित्र धार्मिक सङ्घसंस्थाको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ। ती ठाउँमा समूहमा रहेको भेटिएमा सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ। धार्मिकस्थलमा समूहमा गरिने नियमित पूजा र प्रार्थनालाई हालका लागि रोक्न निर्देशन दिइएको उनले जानकारी दिएका छन्। रासस