चितवन– कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको अगुवाइमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष –अस्थायी अस्पतालको व्यवस्थापन आजदेखि भरतपुर अस्पतालले हेर्न शुरु गरेको छ। सो अस्पतालमा अन्य स्वास्थ्य सङ्घसंस्थासँग क्षणिक समयका लागि ल्याएका सामानबाहेक सम्पूर्ण सामग्री अब भरतपुर अस्पतालको हुने भएको छ।
भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सो अस्पतालको व्यवस्थापन हेर्ने सम्बन्धमा सम्झौता भएको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालको नाम भरतपुर कोरोना विशेष–अस्थायी अस्पताल नै रहनेछ। नामको माथि भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट सञ्चालित लेखिएको छ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल संयोजक रहेको भरतपुर कोरोना नियन्त्रण कार्यदलको अगुवाइमा चैत ७ गते अस्पताल शुरु भएको थियो। सो अस्पतालमा हालसम्म कोरोना आशङ्का गरिएका ३५५ जनाको उपचार गरिसकिएको छ। कार्यदलका सदस्य सचिव एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष अधिकारीका अनुसार १४३ जनालाई भर्ना गरेर सो अस्पतालले उपचार गरेको छ।
जसमध्ये २०२ जनाको स्वाब परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको उनले जानकारी दिएका छन्। भरतपुर महानगरपालिका प्रमुख दाहालले चैत मसान्तसम्मको सम्पूर्ण खर्च महानगरपालिकामार्फत भूक्तानी हुने र अबको व्यवस्थापन भरतपुर अस्पतालले गर्ने बताएका छन्। तत्काल अस्पताल आवश्यक भएकाले महानगरको अगुवाइ ७२ घण्टाभित्र कोरोना अस्पताल स्थापना गरिएको भन्दै उनले अरु केही समय सञ्चालन गर्नपर्ने देखिएपछि व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यसको सम्पूर्ण जिम्मेवारी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको बताएका छन्।
भरतपुर अस्पताल विकास समितिका सदस्यसमेत रहेका दाहालले अबको सञ्चालनका क्रममा कुनै समस्या आइपरेमा महानगरले सहयोग गर्ने बताएका छन्। कोरोना अस्पतालमा ५० साधारण श्यया, १० एचडियु श्यया र १० श्ययाको सघन उपचार कक्ष रहेका छन्। भरतपुर अस्पताल ६०० श्ययाको सङ्घीय अस्पताल हो। जुन कोरोना अस्पताल नजिकै रहेको छ। भरतपुर अस्पतालले आइसोलेसनमा राख्नपर्ने बिरामीलाई कोरोना अस्पतालमा राख्ने र जटिल बिरामीलाई भरतपुर अस्पतालमा नै राखेर उपचार गर्ने जनाएको छ। कोरोना रोगको उपचारकै लागि नेपालमा पहिलोपटक भरतपुरमा अस्पताल स्थापना गरिएको थियो। रासस