जुम्ला– जुम्लाको तिला गाउँपालिकाले चार बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीलाई कोराना भाइसको सङ्क्रमण हुनबाट बच्न १० थान व्यक्तिगत सुरक्षा कवच–पिपिइ वितरण गरेको छ। सो गाउँपालिकाको कुडारी, जुम्लाकोट, लिही र तुहीमा रहेको बर्थिङ सेन्टरलाई पिपिइ दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गशेशबहादुर शाहीले बताएका छन्।
बर्थिङ सेन्टरका हेल्थ असिस्टेन्ट विजय रावलले पिपिइ सेट पाएपछि काम गर्न सजिलो भएको बताउँछन्। गाउँपालिकाकको अध्यक्ष रतननाथ योगीका अनुसार कुडारी वडा कार्यालयभित्रका सबै स्थानीयको घरदैलोमा पुगेर मास्क, साबुन, सेनिटाइजर र अत्यावश्यक औषधि वितरण गरिएको छ। सो पालिकामा भारतबाट आएका २६ जनालाई १४ दिन क्वारेन्टाइन राखी फर्काइएको छ। कोराना परीक्षणमा हालसम्म तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका २५ चैत ०७६ मा घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मङ्गल रावलका अनुसर परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब सङ्कलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
गत चैत २५ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो। यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिएका छन्। रासस