छोटो भिडियो क्रिएटिङ तथा सेयरिङ गर्ने चर्चित एप टिकटकको डाउनलोड एन्ड्रोयड र आइओयसमा गरी २ अर्ब नाघेको छ। गुगल प्ले स्टोर र एप्पलको एप स्टोर, दुबै प्लेटफर्ममा गरी यो एपको डाउनलोड संख्या गत फेब्रुअरीसम्म १ अर्ब थियाे । गएकाे मार्च महिनामा लकडाउनका कारण टीकटककाे प्रयाेग ह्वात्तै बढेपछि डाउनलाेडकाे प्रतिस्पर्धामा टिकटकले अन्य सामाजिक सञ्जाललाई समेत पछि पारेको छ।
पछिल्लाे समय नेपालमा पनि निकै लोकप्रिय बनेकाे टिकटक गएको मार्च महिनामा सबै भन्दा बढी डाउनलोड भएकाे छ। विश्वव्यापी महामारिकाे रुपमा फैलिएकाे कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको हाे।
सेन्सर टावरले प्रकाशित गरेको प्रतिवेदन अनुसार, गएको मार्च महिनामा भारतबाट मात्रै एन्ड्रोयड प्लेटफर्ममा टिकटकको कुल डाउनलोडकाे २९.५ प्रतिशत अर्थात १ काराेड ९५ लाख ३० हजार पटक डाउनलोड भएकाे छ। त्यस्तै ४९ लाख ६० हजार पटक ब्राजिलबाट, ४३ लाख १० हजार पटक मेक्सिकाेबाट, ३० लाख २० हजार पटक रसियाबाट, र १८ लाख २० हजार पटक अमेरिकाबाट डाउनलोड भएकाे छ। दिनप्रतिदिन लोकप्रिय बन्दै गरेकाे टिकटक मार्च महिना भरिमा गूगल प्ले स्टोरबाट मात्रै यति धेरै संख्यामा डाउनलोड भएको सेन्सर टावरकाे प्रतिवेदनमा उल्लेख छ।
टिकटककाे सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेका छन् । त्यहाँ ५० कराेड भन्दा बढी पटक टिकटक डाउनलोड भएकाे छ। जब कि टिकटक एप बनेको देश चीनमा भने १८ करोड डाउनलोड भएकाे छ। त्यस्तै अमेरिकामा १३ कराेड पटक डाउनलोड भएकाे सेन्सर टावरले बताएकाे छ।
हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा रहेको छ। केहि समय अघि टिकटकले ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो।