एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना संक्रमण थप विस्तार हुनबाट जोगाउन आगामी तीनदेखि चार साता निकै जटिल हुने बताउँदै आएका छन्। कोरोना संक्रमण दिनहुँ बढिरहेका वेला मोदीको भनाइप्रति देशका स्वास्थ्यविज्ञहरूले पनि सहमति जनाउँदै आएका छन्।
यही जनवरी ३० मा देशमा कोरोना संक्रमणको पहिलो घटना देखिएसँगै भारतले त्यसलाई नियन्त्रण गर्न विभिन्न कदम चालिरहेको छ। उसले कोरोना परीक्षणलाई बृहत् बनाएको छ भने उपनिवेशकालीन १२२ वर्ष पुरानो कानुन व्युँताएर सार्वजनिक रूपमा भेला हुन रोक लगाएको छ। थप तीन साता लकडाउन लम्बाइएको छ र लकडाउन पालना नगर्नेमाथि कडा कारबाही चलाइएको छ।
२१ दिनदेखि सवा अर्बभन्दा बढी जनसंख्या घरभित्रै सीमित छ भने रेल तथा हवाईसेवा ठप्प प्राय छन्। लकडाउनका कारण निम्न वर्गका जनता निकै कष्टकर जीवन बिताउन बाध्य छन्। मजदुरहरू भोकै बस्न बाध्य छन्। लकडाउनकै कारण मजदुरहरू सयौँ माइल पैदल हिँडेर आफ्नो गन्तव्यतर्फ लागेका छन्। सरकारले मजदुर वर्गका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने बताए पनि पीडितहरूले सो सुविधा पाउन नसकेको बताइन्छ। कोरोनाबाट अहिलेसम्म ३५८ जनाको मृत्यु भइसकेको छ भने साढे १० हजार संक्रमित छन्।
‘परीक्षण दायरा फराकिलो भएन’
अहिलेसम्म भारतमा २ लाखको कोरोना परीक्षण भएको छ। परीक्षण गरिएकामध्ये ४ दशमलब ३ प्रतिशतमा पोजेटिभ देखिएको छ। तर, जनसंख्याको अनुपातमा परीक्षणको दायरा निकै कम भएको विज्ञहरूले बताएका छन्। कोरोना नियन्त्रणका लागि सरकारले विभिन्न कदम चालेको छ। कोरोना फैलिएका केही महत्वपूर्ण क्षेत्रको पहिचान गरेको छ। परीक्षणका क्रममा दर्जनौँ जिल्लामा संक्रमण फैलिएको पत्ता लागेको छ। अधिकांश हटस्पटको पहिचान भएको र संक्रमणको आशंका गरिएका अन्य क्षेत्रलाई सिल गरिएको छ। लकडाउनलाई अझै निरन्तरता दिन सकेमा यस्ता क्षेत्रको थप पहिचान हुने सरकारको विश्वास छ।
भारतले कसरी कोरोना नियन्त्रण गर्ला भनेर विश्वका विभिन्न विज्ञहरूले चासोपूर्वक अवलोकन गरिरहेका छन्। यहाँ ठूलो जनघनत्व र कमजोर स्वास्थ्य प्रणालीले कोरोना नियन्त्रणको पहललाई चुनौती दिएको छ। आगामी दुई–तीन दिनमा भाइरसको प्रभाव अझै ठूलो देखिने विज्ञहरू बताउँछन्।
भारतमा संक्रमण नियन्त्रणका प्रयासबारे नजिकबाट अध्ययन गरिरहेका विज्ञ समिका रभीका अनुसार महामारी नियन्त्रणमा सरकारले गरेका पहल सन्तोषजनक छन्। उनका अनुसार हरेक सात दिनमा एक्टिभ केसको संख्या दोब्बर छ, तर यो दर पहिलेको तुलनामा अहिले केही घटेको छ। त्यस्तै, अहिलेको मृत्युदर पनि खासै ठूलो होइन, तथापि संक्रमित संख्या दिनहुँ बढिरहेको छ।
’आगोझैँ फैलिएको महामारीविरुद्ध सरकारले तीव्र कदम चालेकाले केही हदसम्म कमी आएको छ,’ रभी भन्छिन। संक्रमितसँगको सम्पर्क भएका व्यक्तिको धमाधम पहिचान गरिएको उनको दाबी छ। तर, अस्पतालमा उपचार भइरहेका अधिकांश संक्रमितको अवस्था गम्भीर रहेको बताइन्छ। इन्डोर सहरको एक निजी अस्पतालमा कोभिड–१९ का १४० बिरामीमध्ये एकतिहाइको अवस्था गम्भीर छ। सुरुका दिनमा सो अस्पतालमा दैनिक ४० जना संक्रमित आउने भए पनि अहिले सो संख्या घटिरहेको डा. रभी डोसी बताउँछन्।
थप खराबका लागि भारत तयार हुनुपर्छ स् भाइरलविज्ञ ज्याकोब
भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजका पूर्वप्राध्यापक तथा भाइरलविज्ञ टी ज्याकोब जोनका अनुसार भारत अझै ठूलो खराबीका लागि तयार हुनुपर्छ। ‘भारतमा आगामी दुई महिनाभित्र अझै ठूलो समस्या देखिन सक्छ।’ उनी भन्छन् ,भारतमा कोरोना संक्रमण समुदायमा विस्तार भएको छ, यद्यपि त्यहाँको स्वास्थ्य मन्त्रालयले यसलाई अस्वीकार गर्दै आएको छ। डा. रभीका अनुसार आगामी हरेक साता भारतका लागि गम्भीर छन्। त्यसपछि भारतमा कोरोना परीक्षणका लागि लाखौँ किट र दक्ष जनशक्तिको आवश्यकता पर्नेछ। त्यस्तै, परीक्षणका लागि दशौँ हजार नमुना ल्याबमा पुयाउन पनि त्यति सहज छैन।
सरकार भाइरसविरुद्धको युद्धमा लागिपरेकाले सबै पक्षले सहयोग गर्नुपर्ने डा. जोन बताउँछन्। प्रधानमन्त्री मोदीले रोग नियन्त्रणका लागि गरेको आह्वान तथा सरकारी अधिकारीले गरेको नियमित ब्रिफिङका बाबजुद पनि भाइरस विस्तारबारे सरकारले प्रदान गरेका सूचना र परीक्षणको दायरा अस्पष्ट भएको बताइन्छ। गत सातादेखि मात्र सबैलाई मास्क लगाउन अनिवार्य गरिएको थियो। उपर्युक्त स्वास्थ्य प्रणालीका कारण दक्षिणी राज्य केरलामा कोरोना नियन्त्रणमा चालिएको कदम प्रभावकारी देखिएको छ।
भारतमा कोरोना परीक्षणको दायरा अझै बढाउनुपर्ने विज्ञहरूले जोड दिँदै आएका छन्। तर, केही विज्ञहरू भने परीक्षणभन्दा पनि उपचारमा जोड दिनुपर्ने तर्क गर्छन्। एक विज्ञ भन्छन्, ‘परीक्षणभन्दा उपचारतर्फ केन्द्रित हुनुपर्छ। रोगका कारण र यसको नियन्त्रणभन्दा पनि हामी केवल रोगको लक्षणतर्फ केन्द्रित भयौँ।’ उनी भन्छन्।
नयाँ पत्रिका