वीरगंज– कोरोनाका सङ्क्रमितहरूले आफ्नो व्यवहारमा सुधार ल्याएका छन्। महेन्द्र आरोग्य भवनको पुरानो आइसियु वार्डमा रहेको आइसोलेशनमा रहेका तीनजनाले पहिलो दिन उत्पात मच्चाएको उपचारमा संलग्न एकजना चिकित्सकले बताए। तर उनीहरूको व्यवहारमा नयाँ वर्षदेखि सुधार आएको ती चिकित्सकले प्रतीकलाई जानकारी गराएका छन्।
पहिलो दिन सङ्क्रमितहरूले चिकित्सक, स्वास्थ्यकर्मीहरूको निर्देशन नमान्ने, आइसोलेशन वार्डबाट निस्केर बाहिर कोरिडरमा हिंड्ने, धारा छुने जस्ता गतिविधि गरेर आतङ्कको माहोल बनाएका थिए। तर सोमवार उनीहरू सेल्फ क्वारेन्टाइनमा रहेको मक्का जामे मस्जिद छपकैयाका मौलाना र उनीहरूको जिम्मा लिएका युवाहरूलाई बोलाएर सम्झाउन लगाएपछि सङ्क्रमितहरूको व्यवहारमा सुधार आएको चिकित्सकले बताए। महेन्द्र आरोग्य भवनको पहिलो तलामा अस्पतालका कर्मचारीहरू बस्ने गरेका र सङ्क्रमितहरू कोरिडरमा हिंड्न थालेपछि त्यहाँ त्रासको माहोल बनेको थियो।
कर्मचारीहरूले प्रयोग गर्ने चापाकल सङ्क्रमितहरूले छोएकाले सोको हेड परिवर्तन गरेर सेनिटाइज गरी पुनः सञ्चालनमा ल्याइएको छ। अहिले सङ्क्रमितहरूले खानेकुरामा मात्र आफ्नो इच्छा जाहेर गरिरहेका छन्। सोमवार उनीहरूले रोटी खाए। अस्पतालको खाना उनीहरूले नरुचाएका कारण कुरुवाहरूको लागि वडाध्यक्ष जगतसाह कानूले व्यवस्था गर्दै आएको भोजन उनीहरूले पनि माग गरेर खाएको बताइएको छ।
मेसुको पनि स्वाब परीक्षणको माग
नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायको पनि स्वाब परीक्षण गर्नुपर्ने माग भएको छ। मसुले २६ जना मुस्लिम जमातीहरूलाई अस्पतालमा ल्याइएको बेला अस्पतालको एक चियापसलबाट चिया मगाएर पिएको बताइएको छ। स्वाब परीक्षणको नमूना सङ्कलन हुनुअघि यो घटना भएको र पछि तिनै २६ जनामध्ये तीनजनामा कोरोना पोजेटिभ भेटिएको कारण मेसुको पनि स्वाब परीक्षणको माग भएको हो। जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँले सो जमातीहरूलाई अस्पताल पु¥याएको बेला मेसुले उनीहरूसँग बसेर चिया पिएकाले सङ्क्रमणको आशङ्का गरिएको बताइन्छ ।
जालिम मियाँको स्वाब सङ्कलन
भारतीय सञ्चारमाध्यमको कारण पर्सा जिल्लामा चर्चा पाएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ र उनका परिवारका सदस्यहरूको पनि स्वाब परीक्षण गरिएको छ। प्रहरी, प्रशासनका टोलीसँगै नारायणी अस्पतालको मेडिकल टिमले मियाँ र उनका परिवारका १९ जना सदस्यको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो। सोमवार मियाँ र उनका परिवारसहित क्वारेन्टाइनमा रहेका १९ जना गरी ३८ जनाको स्वाब परीक्षणका लागि बागमती प्रदेश प्रयोगशाला हेटौंडा पठाइएको छ।
प्रतीक दैनिक पत्रपत्रिका