एजेन्सी – कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिरहेको बेला कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भईरहेको छ। यसबाट दादुराको प्रकोप फैलिन सक्ने उच्च जोखिम रहेको छ।
यूनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाहरुले ले समयमा दादुराविरुद्ध खोप नपाएर प्रभावित हुने जनाएको छ। एमएमआर खोप प्रयोग गर्ने दर कम रहेका युरोपकै थुप्रै देशमा समेत यो प्रकोप फैलिएको छ।
दादुरा सङ्क्रमणको घटनामा वृद्धि देखिएपछि खोप समयमै दिन नसक्दा यसको प्रकोप बढ्न सक्ने चेतावनी युनिसेफले दिएको हो। दादुरा बिरुद्धको एमएमआर खोप बाल-बालिकाहरुलाई जम्मा दुई पटक दिएर दादुराबाट जोगाउन सकिन्छ। दादुरा उच्च सङ्क्रामक रोग भएकोले खोप प्रयोग गर्ने दरमा सामान्य कमी आउँदा पनि त्यसको ठूलो प्रभाव पर्न सक्छ।
दादुराको सक्रिय सङ्क्रमण नदेखिएका मुलुकहरूले आवश्यकता अनुसार खोप कार्यक्रमलाई तत्कालका लागि रोक्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। ठूलो स्तरमा दादुरा सङ्क्रमणको सामना गरिरहेका २४ वटा देशले कोरोनाभाइरस महामारीको कारण देखाउँदै खोप कार्यक्रम रोक्न निर्णय गरिसकेका छन्।
यी देशहरु बाङ्ग्लादेश, ब्रजिल, बोलिभिया, कम्बोडिया, चाड, चिले, कोलम्बिया, जिबुटी, द डोमिनिकन रिपब्लिक, डीआर कङ्गो, इथियोपिया, होन्डुरस, कजाकस्तान, किर्गिजस्तान, लेबनन, माल्दिभ्स, मेक्सिको, नेपाल, नाइजिरिया, पाराग्वे, सोमालिया, दक्षिणी सुडान, युक्रेन र उज्बेकिस्तान रहेका छन्।