गोरखा– गोरखा आरुघाटका एक युवककाे र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) गर्दा कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको छ। आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएकाे र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट देखाएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिएका छन्।
गत फागुन २२ गते बहराइनबाट ती युवा नेपाल फर्किएका थिए। मंगलबार गरिएकाे र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ।
र्यापिड टेस्टको पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ। उनको थप परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएको जनाइएको छ।