काठमाडौं - पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ६ हजार ८ सय ७१ जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म ८ हजार ९ सय २९ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म १५ हजार ८ सय जनाको परिक्षण भएको छ। र पछिल्लो २४ घन्टामा २ हजार ८ सय ९४ वटा कुल परिक्षण भएको छ स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गरिएको र्यापिड परीक्षणमा कसैमा पनि कोभिड-१९ संक्रमण नभएको पाइएको छ। सनसिटीका २ सय ९८ जनाको र्यापिड परीक्षण गरिएपनि कसैमा पनि पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
त्यसै गरि हिजो र्यापिड परीक्षणमा पोजेटिभ देखिएका अर्का एक व्यक्तिको पी सी आर बिधिबाट भने रिपोर्ट नेगेटिभ आएको समेत उनले जानकारी दिए। हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको डा देवकोटाको बताए।
हालसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या जम्मा ५ हजार ६ सय १४ वटा रहेको छ। र आइसोलेशनमा बिरामीको संख्या १ सय १७ जना रहेको छ। आइसोलेशनमा बिरामीको संख्या काठमाडौँ उपत्यका भित्र ११ जना र उपत्यका बाहिर १०६ जना रहेको प्रवक्ता देवकोटाले बताए।
र्यापिड टेस्ट किट बाट परिक्षण गर्न अब १४ वटा जिलाहरु मात्र बाँकि रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। प्रदेश नं १ मा ७ वटा जिल्ला बाँकि रहेको छ। प्रदेश नं २ मा ३ वटा जिल्ला, गण्डकी प्रदेशमा १ जिल्ला, ५ नं प्रदेश मा पनि १ वटा जिल्ला बाँकि छ भने कर्णाली प्रदेशमा २ वटा जिल्ला बाँकि छ। त्यसैगरी बागमती प्रदेशमा र सुदुरपश्चिमका सबै जिल्लाहरुमा र्यापिड टेस्ट किट बाट परिक्षण परिक्षण कार्य सुरु भईसकेको छ। यसरी कुल ८ हजार ९ सय २९ वटा र्यापिड टेस्ट किट बाट परिक्षण भएको छ। पछिल्लो २४ घन्टामा ७ जिल्ला थप भएर अब १४ वटा जिल्ला मात्र बाँकि रहेको डा विकास देवकोटाले जानकारी दिए।