राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) तनहुँले दमौली अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध गराएको छ। पिपिईको अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेको समाचार प्रकाशित भइरहेको बेला एनप्याब्सनले अस्पताललाई १५ थान पिपिइ सहयोग गरेको हो।
एनप्याब्सनका जिल्ला अध्यक्ष रामकृष्ण विकले अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारी र मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेललाई बुधबार ती पिपिइ हस्तान्तरण गरे। कोभिड–१९ को महामारीको अवस्थामा अस्पतालमा आउने सबैखाले बिरामीले सहजरूपमा सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराइएको एनप्याब्सनका अध्यक्ष विकले बताएका छन्।
‘सामान्य रुघाखोकी र ज्वरो आएर अस्पताल आउँदा पनि स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण गर्न नमानेको खबरहरु आइरहेका हुन्छन्न’ विकले भने, ‘सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीको मनोबल उच्च भई बिरामीको स्वास्थ्य परीक्षणमा सहयोगी बन्ने विश्वास लिएका छौँ।’
अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले निजी विद्यालयको छाता सङ्गठनले अहिलेको महामारीको अवस्थामा स्वास्थ्य संस्थालाई सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गरे। स्वास्थ्य सामग्री पर्याप्त भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च भई उपचारमा लाग्न प्रेरित हुने अधिकारीले बताएका छन्।
कोभिड–१९ का शङ्कास्पद बिरामीका लागि अस्पतालमै स्वाब सङ्कलन गर्ने व्यवस्था मिलाइएकाले त्यस्ता बिरामीलाई निर्धक्क भएर अस्पताल आउन अधिकारीले आग्रह गरे। ‘अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहजरूपमा सेवा दिन हामी तयार छौँ’, अधिकारीले भने।
केही समयअगाडि मात्रै लायन्स क्लब अफ नेपाल ३२५ वि १ ले पनि अस्पताललाई आठ थान पिपिइ सहयोग गरेको थियो। अस्पतालले यसअघि नै १२ थान पिपिइको व्यवस्थापन गरिसकेको थियो । अधिकारीका अनुसार गण्डकी प्रदेश सरकारले दुई थान पिपिइ उपलब्ध गराएको छ भने दश थान अस्पताल आफैँले खरिद गरेको छ।
अस्पतालमा स्यानिटाइजर स्प्रे जडान
अस्पतालको मुख्य प्रवेशद्वारमा स्यानिटाइजर स्प्रे मेशिन जडान गरिएको छ। व्यास नगरपालिका–४ निवासी युवा वैज्ञानिक विकल्प ढुङ्गानाले निर्माण गरेको स्वचालित स्प्रे मेशिन अस्पतालमा जडान गरिएको हो। कोरोनाको सङ्क्रमणबाट जोगाउन सहयोग पुग्ने उद्देश्यले अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर स्प्रे उपकरण जडान गरिएको ढुङ्गानाले जानकारी दिएका छन्।
अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ। ‘स्वचालित उपकरणबाट शरीर स्यानिटाइज गर्न सहयोग पुग्छ, मानिस आवतजावत गर्ने बित्तिकै स्वचालितरूपमा उपकरणले आफैँ स्प्रे गर्न थाल्छ,’ उनले भने। (रासस)