महामारी रोकथामका लागि लकडाउन भन्दा उत्तम विकल्प अर्को छैन । तर यो विकल्पहिन लकडाउन मजदुरहरुको जीवनमा भने वज्रपात बनेको छ । मानिसहरु चुपचाप हप्तौं हिंडेर घर गएका छन् तर विरोधमा बोलेका छैनन् । २४ दिनको याे लकडाउनले सबैभन्दा बढि मार दैनिक ज्यालादारी गरेर जिवन गुजारा गर्नेहरुमा परेको छ । लकडाउनका बावजुद सोलुबाट कैलाली जानेहरु हुन् या मठ मन्दिर र सडक पेटीमा रात कटाइरहेकाहरु हुन्, प्राय सबै मजदुरहरु नै छन् ।
रोजगारी गुमेको छ । आम्दानीको श्रोत छैन, खल्ती रित्तियो । भान्सामा जोहो छैन, खाद्यान्न सकियो । ऋण/उधारो कसैले पत्याउँदैन । महिना मर्यो, घरबेटीले छड्के आँखा लगाउँछन् । बालबच्चाको मुहार निन्याउरो देखिन्छ । कोभिड १९ को संक्रमणभन्दा घातक देखिन्छ गरिबी । समाजवाद उन्मुख राज्य लकडाउनकाे पूर्ण पालना गराउन प्रतिबद्ध छ । गुमाउनका लागि जंजीरबाहेक केही नभएकाहरु सडकमा भाेकभाेकै हिंड्दै छन् ।
कोरोना भाइरसको महामारी रोक्न सरकारले शुरु गरेको लकडाउन बिहिबार २४ दिन पुरा हुँदैछ । चैत ११ गतेदेखि शुरु भएको लकडाउनको अवधि तीन पटक थप गरी आगामी बैसाख १५ गतेसम्म पुर्याइएको छ । कोभिड १९ का नयाँ संक्रमित देखिएसँगै सरकारले लकडाउनको अवधि थप गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, हालसम्म परिक्षण गरिएका ६ हजार ८ सय ७१ जनामध्ये १६ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना परिक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएकाे छ । यसले लकडाउनको अवधि थप लम्बिने संकेत पनि गर्छ ।
यस्तो अनिश्चयवीच “रोग भन्दा भोक सहन गाह्रो” भन्दै मजदुरहरु सडकमा देखिन थालेका छन्– लकडाउनको विरोधमा होइन, राहतको खोजीमा । काठमाडौंको कुलेश्वरमा क्यामेराको फोकस मिलाउँदै गर्दा राहतको लाइनमा बसेका एकजना दाइको आवाज अझै कानमा गुञ्जिरहेको छ – “बाँच्न गाह्रो भो ।”
आज म लकडाउनका बेला सडकमा देखिएका तीनै मानिसहरुको कथा फोटोमार्फत प्रस्तुत गर्दैछु ।