वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्। भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए। पौडेलले माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पालना गराउन तथा लकडाउनका कारण सिर्जित समस्या निराकरण गर्न एवं भाइरस फैलिन नदिन पालिकाले खेलेको भूमिकाको प्रशंसा गरे।
मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिँदै केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा नगर्न अनुरोध गरे। पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उनको तर्क थियो। “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो”, उनले भने। मुख्यमन्त्री पौडेलले स्थानीय निकायको कोषमा भएको रकम खर्च गर्दा भने पारदर्शिता अपनाउन सुझाव दिए।
पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे। उनले भने, “राहत अतिआवश्यक भएकाका लागि मात्र हुनुपर्नेमा लकडाउन शुरु भएदेखि नै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत होइन।” कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले माहामारी अवस्था आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उनको भनाई थियो।
मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाका प्रमुखसँग भिडियो कन्फेरेन्समार्फत छलफल गरेका हुन्। रासस