स्मार्टफोनका लागि विभिन्न किसिमका एप्हरु प्ले स्टोरमा निशुल्क उपलब्ध हुन्छन्। यस्ता फरक फरक किसिमका एप्स आफ्नाे फोनमा इन्स्टल गर्न खासै गार्हाे पनि हुँदैन। तर सजिलै डाउनलाेड वा इन्स्टल भएका कतिपय एप्हरुले तपाईकाे फाेनलाई भने निकै गार्हाे बनाइदिन सक्छन्।
कुनै एप्हरु यस्ता पनि हुन्छन् जसले निकै ठूला आश्वासनहरु दिलाउँछन् तर तपाइको स्मार्टफोनको कार्यशैली, डाटा, प्राइभेसी लगायत फोनको पुरै परफरमेन्सलाई नै प्रभावित पारिरहेका हुन्छन्।
ती मध्ये ब्याट्री सेभ गर्ने एप्स, स्पीड बूस्टर, र क्लिनिङ्ग एप्स जोखिमयुक्त (मालिसियस) एप्स् मानिन्छन्। यी विभिन्न किसिमका एप्समाथि कैयौं आरोप पनि लागिसकेका छन्। यदि तपाई एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यी एप्सहरुका बारेमा सतर्क रहनुहाेस्। त्यसैले यी ३ किसिमका एप्स आफ्नो स्मार्टफोनमा नराख्न एक्सपर्टहरुले सुझाव दिदै आएका छन्।
१.ब्याट्री सेभ गर्ने एप्स
गूगल प्ले स्टोरमा ब्याट्री सेभर, ब्याट्री डाक्टर, ब्याट्री सलुसन लगायतका नाममा हजाराैं एप्स् भेटिन्छन्। यी एप्सले तपाईँको स्मार्टफोनको ब्याट्री बचाउने दाबी गर्दछन्। कतिले त यस्तो एप्स इन्स्टल गरेपछि ब्याट्री ब्याकअप डबल हुने बताउँछन् तर यस्तो केहि पनि हुँदैन। किनकि स्मार्टफोनहरुमा लिथियमको ब्याट्री प्रयोग गरिएको हुन्छ र यसले आफ्नै किसिमले काम गर्छ। सबै स्मार्टफोनहरुमा पावर सेभिंग मोड राखिएको हुन्छ र प्रयोगकर्ताले यसलाई प्रयोग गरेर ब्याट्री सेभ गर्न सक्छन्। त्यसैले यी एप्सहरुको कुनै आवश्यक्ता छैन। यी एप्हरुले स्मार्टफोनको मेमोरी र इन्टरनेट डाटा मात्रै खपत गरिरहेका हुँदैनन् तपाईँको स्मार्टफोनको परफरमेन्सलाई समेत असर पारिरहेका हुन्छन्।
२.स्पीड बूस्टर
प्ले स्टोरमा स्पीड बूस्टर भन्ने एप्स पनि हजारौँको संख्यामा भेटिन्छन्, जसले मेमोरी वा र्यामलाई बूस्ट गरि स्मार्टफोनलाइ फास्ट बनाउने दाबी गर्दछन्। स्मार्टफोन स्लो हुनेबित्तिकै प्रयोगकर्ताहरु गूगल प्ले स्टोरमा गएर यस्ता एप्स् डाउनलोड गर्ने गर्छन्। सत्य तत्थ्य नै जाँच नगरि डाउनलोड गरिने यस्ता एप्हरुले स्मार्टफोनलाई उल्टै असर पुर्यारहेका हुन्छन्। यी एप्स ब्याकग्राउण्डमा चलिरहेका हुन्छन् र बेलाबेलामा आफैं विभिन्न विज्ञापनहरु प्ले गरिदिन्छन्। यतिमात्र नभइ यी एप्सले स्मार्टफोनमा विभिन्न अनुमतिहरु लिएका हुन्छन्, जसकाे फाइदा उठाउँदै यी एप्सले तपाईँको स्मार्टफोनको उर्जा र कार्यक्षमतालाई प्रभावित परिरहेका हुन्छन्। स्मार्टफाेनमा पहिलेदेखि नै यस्ता फीचरहरु उपलब्ध हुन्छन जसले फोनको मेमोरीलाई बूस्ट गर्दछ। त्यसैले यी अनावश्यक थर्ड पार्टी एप्स हटाएकै बेस हुन्छ।
३.क्लिनिङ्ग एप्स
क्लीन मास्टर, क्लीनर, स्मार्टफोन क्लीन लगायतका नाममा प्ले स्टोरमा सयौँ एप्सहरु उपलब्ध छन्। स्मार्टफोन क्लीन गर्छु भनेर दावी गर्ने थर्ड पार्टी एप्सले सामान्यतः तपाईँको स्मार्टफोनमा कुनै सुधार गर्दैनन्। बरु उल्टै यसबाट फोनमा मालवेयर इन्स्टल हुन सक्दछन्। जसबाट प्रयोगकर्तालाइ ठुलो नोक्सान हुन सक्छ । त्यसैले विज्ञहरुले यी सबै एप्सहरुलाई तुरुन्त हटाउन सल्लाह समेत दिएका छन्। स्मार्टफोन क्लीन गर्ने नाममा यी एप्सले स्मार्टफोनको स्टाेरेज ओगटेका हुन्छन् भने यी एप्स ब्याकग्राउण्डमा चलिरहेका हुन्छन्। जसले मेमोरी, इन्टरनेट डाटा तथा ब्याट्री छिटो खपत गर्नुका साथै स्मार्टफोनको पुरै कार्यशैली र परफरमेन्सलाई समेत नाेक्सान पुर्याइरहेका हुन्छन्।