झापा - झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ। कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको हो। यहाँ करीब ३५ परिवारको बसोबास छ। उनीहरु सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो।
‘लकडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानू, दिनरात चिन्ता यही कुराको छ।’ अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा नयाँबस्तीबासीले थोरै राहत सामग्री पाएका छन्। लकडाउन घोषणा भएको आज २४ दिनका अवधिमा उनीहरुले पाँच केजी चामल, एकएक केजी दाल र नून, आधा लिटर तेल र एउटा साबुन मात्र पाएका हुन्।
चार÷सात जनाको परिवारलाई पाँच केजी चामलले के हुन्छ ?’, स्थानीयवासी पूर्णिमा शर्मा भन्छिन्, ‘राहत त पाइयो तर...।’ यहाँका बासिन्दाले भने लकडाउनको पूर्णपालना गरिरहेको उनी बताउँछिन्। जरुरी कामबाहेक कोही घरबाट ननिस्कने गरेको र काम पर्दा मात्र जाने गरेको उनले बताइन्।
भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले पहिलो चरणमा राहत वितरणका लागि वडामा एक हजार १२० विपन्न परिवारको नाम संकलन गरिएको बताए। ‘त्यसमा अलिक पछि राहत दिँदा हुने छनोट गरेर ८३० जनाको नामावली तयार ग¥यौँ’, वडाध्यक्ष कार्कीले भने, ‘नगरपालिकाले जम्मा २०० जनाका लागि मात्र राहत पठायो।’ पहिलो चरणमा नगरपालिकाले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन दिने निर्णय गरेर राहत पठाएको उनी बताउँछन्। ‘८३० जनाको नाम छ, आयो २०० जनाका लागि’, उनले भने, ‘उक्त परिमाणलाई आधा बनाएर चार सय जनालाई वितरण ग¥यौँ।’
जनप्रतिनिधि र स्थानीय संघसंस्थाको सहयोगमा हालसम्म ७९९ परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ। स्थानीय बलभद्र युवा क्लबको सहयोगमा थप ६० परिवारलाई भर्खरै राहत दिइएको वडाध्यक्ष कार्कीको भनाइ छ। ‘जनताले विश्वास गरेर मत दिएका छन्’, उनले भने, ‘अहिले समस्या परेका बेला सहयोग गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, सकेसम्म वडाबासीलाई राहत दिन्छु।’
छिमेकी वडा नं. ८ नम्बरले पहिलो चरणमा २७० परिवारलाई राहत दिएको छ। प्रतिपरिवार सात केजी चामल, दाल, नून एकएक केजी, एक लि तेल र एउटा साबुन दिइएको वडाध्यक्ष गौरव सुब्बाले जानकारी दिए। यसैबीच भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरले रू ५० लाख, बिर्तामोडले रू ५० लाख र कचनवल गाउँपालिकाले रू ३० लाखको कोरोना नियन्त्रण, रोकथाम तथा राहत कोष बनाएका छन् भने भद्रपुरले चाहिँ रू १५ लाखको मात्र कोष स्थापना गरेको छ।
न्यून रकमको कोष निर्माण गरिएकाले पनि भद्रपुरमा दाताको मुख ताक्नुपर्ने अवस्था रहेको स्वयम् जनप्रतिनिधि स्वीकार्छन्। ‘भौतिक पूर्वाधार विकासभन्दा पनि जनताको जीवन रक्षा अहिलेको मुख्य विषय हो’, वडाध्यक्ष कार्की भन्छन्, ‘तर कोषमा रकम वृद्धि गर्न नगरको ध्यान गएको छैन।’ रासस