प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन्।
“घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजीकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खानेबस्ने व्यवस्था छ ”, मुख्यमन्त्री पोखरलेले लेखेका छन्। बन्दाबन्दीका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आआफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन्। काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन्। काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा र प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन्। गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो। उनीहरु लामो बाटो दिनरात पैदल हिँडेर यहाँ आएका थिए। रासस
