काठमाडाैं- लकडाउनका बेला खाद्यान्न संकट भएको भन्दै मानिसहरु पैदलै उपत्यका बाहिर जान थालेपछि सरकार र राजनीतिक दलहरुको त्यसतर्फ सक्रियता बढेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला आवत जावत ठप्प पार्न निर्देशन दिएका छन् ।
काठमाडौंमा अलपत्र परेर पैदलै भएपनि घर जानुपरेको श्रमिकहरुका आवाज बाहिर आउन थालेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रीहरुका साथै कोरोना रोकथामसम्बन्धि उच्चस्तरिय समन्वय समितिका सदस्यहरुलाई बोलाएर छलफल गरे । छलफलमा प्रधानमन्त्री ओलीले आवत जावतमा कडाइ गर्न तथा संकटमा परेकाहरुलाई खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएका छन् ।
छलफलमा उच्चस्तरिय समन्वय समितिले काठमाडौंमा अलपत्र परेकाहरुलाई गाउँ पठाउन गरेको प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडै अस्विकार गरेका थिए । प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागि एक मन्त्रीले भने, "यदि खाद्यान्नको संकट परेको भए खानेकुराको व्यवस्था गरिदिनु । लकडाउन भनेकाे लकडाउन हाे, आवत जावत हुनै सक्दैन ।"
उच्चस्तरिय समन्वय समितिले प्रदेश र स्थानियतहसँग समन्वय गरेर सतर्कतासहित गाउँ फर्काउने वा काठमाडौंमै रोकेर ब्यवस्था गर्न सकिने विकल्प सुझाएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ को परिक्षण गति तिब्र पार्न पनि निर्देशन दिएका छन् ।