मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सका चालकले सिकिस्त बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन्। निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन्।
गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। बिरामी रोक्काले अर्बुद रोगका कारण एउटा हात पनि गुमाइसकेका थिए। एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताएका छन्।
उनको अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको उनले बताएका छन्। इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताएका छन्। रासस