जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षण गर्न प्रयोगशाला स्थापना हुने भएको छ। यसका लागि विज्ञको टोलीले सम्भाव्यता अध्ययनसमेत गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा पनि सो परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्र नेतृत्वको टोलीले अस्पतालमा प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिएका छन्। टोलीमा डा मिश्रसँगै डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुसाल सहभागी थीए।
जिल्ला अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने कुराले आफूहरुलाई उत्साहित बनाएको डा जोशीको भनाइ छ। प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर जाँचका लागिसमेत सजिलो हुने डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुसालले जानकारी दिएका छन्।
जिल्ला अस्पतालको ५० श्ययाको भवन निर्माण कार्यसमेत जारी रहेकाले प्रयोगशला स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रदेश सरकारद्वारा पालिकालाई डेढ करोड सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले यहाँका १० वटै स्थानीय तहमा रु एक करोड ५० लाखभन्दा बढी पठाएको छ। जारी लकडाउनका कारण समस्या परेका नागरिकलाई राहत दिनका लागि रु एक करोड ६० लाख ३० हजार पठाएको हो।
मन्त्रिपरिषद् बैठकले केही दिनअघि गरेको निर्णयअनुसार असहाय, गरिब, विपन्न र ज्यालादारी गुमाएका परिवारलाई राहत दिनका लागि प्रदेश सरकारले रकम पठाएको प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिएका छन्।
प्रदेश सरकारले विपन्न, गरिब, असहाय र ज्यालादारी गुमाएका परिवारलाई प्रतिपरिवार तीन हजारका दरले राहत दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार दशरथचन्द नगरपालिकामा रु २० लाख, दोगडाकेदार गाउँपालिकामा रु १६ लाख, पुर्चौंडी नगरपालिकामा रु २६ लाख २० हजार, पाटन नगरपालिकामा रु १७ लाख २० हजार र मेलौली नगरपालिकामा रु १३ लाख ७० हजार राहत रकम पठाइएको छ।
यस्तै शिवनाथ गाउँपालिकामा रु ११ लाख ९० हजार, पञ्चेश्वर गाउँपालिकामा रु १२ लाख २० हजार, सिगास गाउँपालिकामा रु १५ लाख ८० हजार, डिलाशैनी गाउँपालिकामा रु १५ लाख ४० हजार र सुर्नया गाउँपालिकामा रु ११ लाख ९० हजार राहत रकम पठाएको छ ।
प्रदेश सरकारले राहत वितरणसम्बन्धी कार्यविधिसमेत ल्याइसकेको र सोही कार्यविधिअनुसार राहत रकम वितरण हुने जनाइएको छ। स्थानीय तहले पनि स्थानीयस्तरमा राहत वितरण गर्दै आएका छन्। प्रदेश सरकारले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रकम पठाइसकेको जनाएको छ। (रासस)