एजेन्सी -अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले "सुरक्षित, क्रमिक र चरणबद्ध रूपमा" व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम चाल्ने घोषणा गरेका छन्। कोरोनाभाइरस फैलिन नदिन लगाइएका प्रतिबन्धहरू हटाएर अर्थतन्त्र पुन: सञ्चालन गर्न निर्देशिका जारी गरेपछि उनको यस्तो भनाइ आएको हो।
शनिवार ह्वाइट हाउसमा कोभिड-१९ बारे आयोजित दैनिक ब्रीफिङका क्रममा ट्रम्पले टेक्सस र भर्मन्टले "उपयुक्त सामाजिक दूरीका सावधानीसहित" केही व्यवसायहरू सोमवारबाट पुन: खोल्न दिने बताएका छन्। साथै उनले फ्लोरिडा राज्यको समुद्री तट पनि पुन: खुल्न लागेको बताएका छन्।
ब्रीफिङकै क्रममा उनले भाइरसले आफ्नो उत्कर्ष पार गरेको सङ्केत देखिएको दाबी गरे। तर स्वास्थ्यविज्ञ र केही राज्यका गभर्नरहरूले भने प्रतिबन्धहरू छिट्टै हटाउँदा त्यसले थुप्रै मानिसहरू सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा डेमोक्र्याट पार्टीका गभर्नरहरूले निर्वाह गरेको भूमिकाको आलोचना गरेका छन्। केही गभर्नरहरू कोरोनाभाइरस रोकथामका लागि लगाइएको प्रतिबन्धप्रति आवश्यकता भन्दा बढी नै तनावमा देखिएको उनले बताए। तर स्वास्थ्यविज्ञ र केही राज्यका गभर्नरहरूले भने प्रतिबन्धहरू छिट्टै हटाउँदा त्यसले थुप्रै मानिसहरू सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।