बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाता बढिरहेका छन्। गाउँपालिकाले रु १० लाख र गण्डकी प्रदेशको रु पाँच लाख गरी रु १५ लाखबाट शुरुआत गरिएको सो कोषमा हालसम्म रु ३८ लाख २० हजार २५० जम्मा भएको काठेखोला गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न सङ्घसंस्था, प्रवासी नेपाली, सहकारी, विभिन्न व्यक्ति, गाउँपालिकाका कर्मचारी र शिक्षकले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिएका छन्। कोषबाट गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक अत्यावश्यक उपकरण, औषधि, स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन र राहत वितरण गरिने विकको भनाइ छ।
कोषमा सबैभन्दा बढी व्यक्तिगतरूपमा प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले रु एक लाख सहयोग गर्को छ। यस्तै गाउँपालिकाका शिक्षकहरुले तलबको १० प्रतिशत हुन आउने रु १० लाख ७३ हजार ३३९ रकम कोषमा जम्मा भइसकेको छ। ‘गाउँपालिकाले स्थापना गरेको कोषमा धेरै सङ्घसंस्थाले उत्साहजकरूपमा सहयोग गरिरहेको छ’, उनले भने ‘कोषबाट हामीले एउटा मापदण्ड बनाएर राहत वितरण, स्वास्थ्य उपकरण व्यवस्थापनमा लगाउने निर्णय गरेका छौँ।
बागलुङ जिल्लाका दशवटै स्थानीय तहले रु दुई करोड १७ लाखको कोरोना रोकथाम तथा व्यवस्थापन कोष स्थापना गरी सहयोगको आह्वान गरेको छ। जसमध्ये काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उत्साहजनकरूपमा सहयोग गरिराखेको छ।
मजदुरको उद्धार
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर समस्यामा पर्दै आइरहेका छन्। लकडाउन लम्बिँदै जान लाग्दा मजदुर भोकै पर्न थालेपछि नेपालका अधिकांश मजदुर हिँडैरै घर जान थालेका हुन्। यस्तै पोखराबाट हिँडेरै बागलुङ हुँदै रोल्पा जान लागेका १४ मजदुरको उद्धार गरिएको छ।
पोखराबाट हिँडेर बागलुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेका मजदुरलाई शनिबार ढोरपाटन नगरपालिकाले उद्धार गरी रुकुम पु¥याएको हो। ढोरपाटन नगरपालिकाले पैदल हिँडेर बुर्तिवाङ आएका १४ मजदुरलाई उद्धार रुकुम पु¥याएर छोडेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए। पोखरामा विभिन्न स्थानमा भवन निर्माणको काम गर्दै आएका र बागलुङका विभिन्न स्थानमा सडक निर्माण गर्दै आएका आएका रोल्पा, रुकुम र सल्यानका मजदुरहरु पैदल यात्रा मार्फत शनिबार वुर्तिवाङ पुगेका थिए।
मजदुरहरुलाई ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीको पहलमा सवारी साधनको व्यवस्था गरि रुकुम जिल्लाको भुमे गाउँपालिकाको सीमानामा पु¥याएर छोडिएको उप–प्रमुख करमती पुन मगरले जानकारी दिएका छन्। हिँड्दाहिँड्दै खुट्टा सुन्निएर दयनीय अवस्थामा ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेका सल्यान कपुरकोटको एक महिला, सल्यान कपुरकोटको छ पुरुष, रोल्पाको थवाङका छ पुरुष र रुकुमपश्चिमका एक पुरुषलाई सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर रुकुमको भूमे गाउँपालिकाको सीमाना पु¥याएर छाडिएको मगरले जानकारी दिए।
युवाको लडेर मृत्यु
भीरमौरीको मह निकाल्न गएका बागलुङ गलकोटका एक युवाको भीरबाट लडेर शनिबार राति मृत्यु भएको छ। गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जङ्गलमा साथीहरुसँग मह निकाल्न गएका छन्। रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिएका छन्। घटनाको पूरा विवरण आउन बाँकी छ। इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशर थापाको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। (रासस)