डोल्पा– डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण–आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिएका छन्। डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।
स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा
भारतबाट आएका आठ जना सर्वसाधारणको दु्रत डाइग्नोस्टिक परीक्षणका लागि आइतबार किटसहित चिकित्सकको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ। उनीहरुको परीक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डा मछिन्द्र बडुवालको नेतृत्वमा चार जनाको टोली आइतबार गाउँपालिकातर्फ गएको जिल्ला अस्पतालले जनाएको छ।
उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परीक्षण कीटद्वारा स्वाब परीक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ। मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारण रहेकाले उनीहरुको पनि परीक्षण गर्ने अस्पतालले जनाएको छ। स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको द्रुत परीक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किटसहित चिकित्सकको टोली खटाएर परीक्षण गरिने डा रावलले बताएका छन्।
डोल्पामा कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ। जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन। रासस