चाैतारा– विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण–आरडिटी गर्ने कार्यमा तीव्रता आएको छ।
चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताएका छन्। तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण गर्न आउने क्रम जारी रहेको छ।
जिल्लामा हाल कोही पनि आइसोलेसन वार्डमा रहेका छैनन्। कोरोना भाइरस सङ्क्रमण आशङ्कमा स्वास्थ्य जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा उनीहरु सबैको नमूना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ। विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेसन कक्षमा राखिएको थियो।
हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर, मेलम्ची, बाह्रबिसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। रासस