काठमाडौं– नेपाल परिवार दलले कोभिड–१९ बारे सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिने पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थ सो पार्टीले पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई विभिन्न सामग्री प्रदान गरेको हो।
पत्रकार महासङ्घको कार्यालयमा दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले दुई हजार थान मास्क महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष ढकालले दिनरात नभनी अहोरात्र खटिने सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सही सूचना पाउन नसक्ने भन्दै सुरक्षार्थ सानो सहयोग गरेको बताए।
सो सामग्री ग्रहण गर्दै महासङ्घका अध्यक्ष आचार्यले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशील पत्रकारलाई उपलब्ध गराइने बताएका छन्। ‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज, न प्रोत्साहन नै गरेको छ’, अध्यक्ष आचार्यले भने। परिवार दलले गत वैशाख २ गते कोभिड– १९ युनिफाइड कमाण्ड हस्पिटललाई पाँच हजार मास्क प्रदान गरेको थियो। रासस