अर्घाखाँची– तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट आयात हुने दूधजन्य पदार्थ खरीदबिक्रीमा जिप्रकाले रोक लगाएको हो।
व्यापारीले भारतबाट दूध, तरकारी, फलफूल, मासु र अण्डा जिल्ला भित्र्याउँदा कोरोना भित्रिने जोखिम भएकाले खरीदबिक्रीमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताएका छन्। सांसदले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग गरेको अलगअलग बैठक तथा छलफलपछि यस्तो निर्णय गरिएको हो।
बैठकमा जिल्लामा कोरोना भाइरस नियन्त्रणका निम्ति गरिएका प्रयास, स्वास्थ्य सामग्रीको अवस्था, दैनिक उपभोग्य सामग्रीको सहज आपूर्ति, विकासनिर्माणलगायत विषयमा छलफल भएको प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताएका छन्। भारत र नेपालका सीमा नाकामा रहेका जिल्लाबासीको स्वास्थ्योपचार र गाँसबासको उचित प्रबन्ध गर्न तथा छिमेकी देशमा रहेका यहाँका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी ल्याउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको छ।
छलफलमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभासदस्यद्वय आचार्य र रामजीप्रसाद घिमिरे, नेपाल कम्युनिष्ट पार्टी–नेकपाका सचिव ठाकुरकुमार विक, कार्यालय सदस्यद्वय पीताम्बर भुसाल र राजेन्द्र भुसाल, नेपाली कांग्रेसका सभापति विष्णुप्रसाद खनाल रउपसभापति शान्ता भण्डारी तथा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, सागर केसी, झबिलाल थापालगायतले कोरोनाविरुद्ध सबै सचेत रहन जिल्लाबासीलाई आग्रह गरेका छन्। रासस