-ऋतिक यादव
संसारलाई हामीले जसरी जानेका छौं, बुझेका छौं, कोरोना भाइरसले त्यसलाई आधारभूत रुपमै परिष्कृत गरिदिएको छ। परस्पर निर्भर विश्व र उपचारविहीन ज्यानमारा भाइरसबीचको घातक भिडन्तले मानव सभ्यतालाई लकडाउन अर्थात घरबन्दी गरेको छ। लकडाउनका सान्दर्भिकता र यसले विभिन्न परिवेशमा पारेको असर विश्लेषणको उत्कर्षमा छ। यसलाई कोरोनासँग भिड्नका निम्ति एकमात्र बाँकी विकल्पको रुपमा प्रायोगिक बनाउनुका साथै यसको केही अप्रत्याशित र उल्लेखनीय सकरात्मक योगदानलाई चर्चापरिचर्चासँग जोडिदैछ।
लकडाउनको परिचयात्मक विश्लेषण
खासमा लकडाउन भनेको एकप्रकारको आपतकालीन प्रोटोकल हो, जसले मानिसलाई कुनै विशेष परिस्थितिका कारण आफु रहेको ठाउँ/घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाईन्छ। इमरजेन्सी लकडाउन र प्रिभेन्टीभ लकडाउन गरी यो दुईप्रकारको हुन्छ। मास क्वारेन्टाइन सँग जोडिएको हालको लकडाउनसँग भने इमरजेन्सी र प्रिभेन्टीभ दुवैको सम्मिश्रण छ। इतिहासका पछिल्ला थुप्रै घटनाक्रमहरु लकडाउन बाट गुज्रेका छन्। अगस्त २०१९ मा भारत सरकारले धारा ३७० हटाउँदा टेरोरिज्म थ्रेट भनेर जम्मु- काश्मिरमा , सेप्टेम्बर २००१ मा अलकायदाले अमेरिकामा आक्रामण गर्दालगायतका समयमा लकडाउन विधि अपनाइएको पछिल्ला उदाहरणहरु देखिन्छन्। विगतका लकडाउनहरु थौरै समयमा सकिएका थिए भने अहिले कहिलेसम्म लम्बिने हो भने ठेगान छैन अथवा प्रिडिक्ट गर्न सकिने अवस्था पनि छैन ।
अहिले कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका कारण संसारका अधिकांश राष्ट्रहरुले यसलाई पराजित गर्न विभिन्न मोडेलका लकडाउन विधि अवलम्बन गरेका छन्। नेपालले चिनीयाँ लकडाउन विधि अपनाएको हो। यध्यपि, लकडाउनको विशेषणमा सबै देशमा एकरुपता देखिँदैन। कतै लकडाउनमा उदारता छ भने, कतै अनुदारता छ, कतै औसत। लकडाउनको डिग्री फरक भएतापनी सबैको इन्टेन्सन कोरोनाबाट जोगिनु नै रहेको छ। अमेरिकालगायतका केही सीमित देशहरुलाई अपवाद मान्ने हो भने, सबै देशले देशैभरि लकडाउन गरेका छन्।
नेपालको सन्दर्भमा लकडाउन
नेपालले विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएपछि ‘इन्टरनेसनल हेल्थ रेगुलेसन ४९’ पालना गर्नुपरेको थियो। जसकारण छुट्टै संक्रामक रोग ऐन,२०२० बनाउनु पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको देखिन्छ। सो ऐनको मस्यौदा कानुन अधिकृत नैनबहादुर विष्ट र विश्वनाथ उपाध्यायले तयार पारेका थिए। अमेरिका र भारतले समेत यस्तो विशिष्टीकृत परिस्थितिको परिकल्पना नगरेको अवस्थामा नेपालमा संक्रामक रोगको नियन्त्रणका लागि आजभन्दा ५६ वर्षअघि नै ऐनकानुनको व्यवस्था गरिनुले हाम्रा अघिल्ला पुस्तामा दूरदृष्टि रहेको प्रमाणित हुन्छ। त्यसै ऐनलाई टेकेर देशैभरि लागू हुनेगरी चैत्र ११ मंगलबार ६ बजेबाट लकडाउन गरिएको छ। ५६ वर्षपछि ऐनमा टेकेर सरकारले पूरै देश लकडाउन गरेको सम्भवतः यो नै पहिलो पटक हो। महामारी देखिएको समयमा निश्चित क्षेत्र र समयका लागि ऐन कार्यान्वयन भइरहेको थियो। तर, यसरी पूरै देश लकडाउन गरिएको थिएन।
ऐनमा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जिएमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ’ भन्ने व्यवस्था उल्लेख छ। यसै ऐनबमोजिम देशमा लकडाउन गरिएको हो। हाम्रो कानूनमा भने लकडाउन शब्द कतै किटान गरेको देखिँदैन।
लकडाउन इज अपरच्यूनिटि
धेरैजसो मानिसको व्यापार, व्यवसाय, नोकरी , स्वास्थ्य, सञ्चार क्षेत्रको कर्तव्य, रोजीरोटी आदिका लागि दैनिक घरबाट बाहिर ननिस्की सुख थिएन । तिनिहरुलाई ठुलो धक्का महसुस भएको होला। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु कोरोनाको चपेटामा परेका छन्। डेली बैसिस मा कमाउनेहरु त्यसैप्रकारले प्रताडित होलान्। त्यसैअनुरूप बाहिर निस्किन बानी परेकालाई केही समयको लकडाउन वास्तवमै असहज लागेको होला तर यो समय धेरैको अन्तरालमा एकपटक आउने हुँदा यसलाई धेरै तरिकाले सकारात्मकरूपमा लिन सकिने अथार्त अपरच्यूनिटिको रुपमा व्याख्या गर्न सक्ने लजिक र फ्याक्ट प्रशस्त छन्।
आत्मस्मरणमा जागृतिको अवसर
आज घरमा सपरिवार छौं। परिवार साथमा नहुनेहरू पनि जहाँ छौं, सुरक्षित छौं। आफ्नो घर, बगैंचा, करेसाबारीमा समय दिन थालेका छौं। बालबालिकाले पुस्तकमा हेरेका धान, गहुँ, मकै,आलु इत्यादि समिपबाट नियाल्न सकेका छन्। जङ्क फुड खान छाडिसकेका छन्। बोर्डिङ्का पुस्तकबाहेकका एक्स्ट्रा बुक पढ्न सकिरहेका छन्। अनलाइन प्लेटफर्मको प्रयोगमा अकल्पनीय बढावा भएको छ।
भिडबाट एक्लिएर आफू र आफ्नो परिवारसँग समय बिताउने अवसर मिलेको छ। घर बस्न पाए त यो गर्थें, त्यो गर्थें, बगैंचामा रमाउँथे, २/४ वटा फूल र तरकारीका बोट रोप्थें भन्ने योजनालाई साकार पार्ने समय आएको छ। वृद्ध आमाबुबा र साना केटाकेटीलाई समय दिन नसक्नेलाई कति सुमधुर सौभाग्य प्राप्त भएको छ। एकआपसमा भलाकुसारी गर्ने र आफ्ना सिर्जनतात्मकतालाई साकार रूप दिन पाइने समय आएको छ। लकडाउनमा घर र परिवार महाविद्यालय को उपमा प्राप्त गर्न लायकको भइसकेको छ। किताबी ज्ञानभन्दा अलगको संसारमा चुर्लुम्म डुब्ने दुर्लभ अवसर प्राप्त भएको छ।
सधैं भागदौड र तनावमा समय बिताउन बाध्य हुनेलाई आत्म एकान्तमा रमाउने समय उपलब्ध छ। योग, ध्यान, संगीत, अध्ययन, लेखपढमा समय दिन नभ्याउनेका लागि सुवर्ण अवसर बनेर आएको छ। आफ्ना सिर्जनात्मकता र घरमै बसेर गर्ने कामका योजना बनाएकालाई आफैंमा डुब्ने, आफैंलाई जान्ने, आत्मस्मरणमा जागृत हुने समयको रूपमा उपलब्ध भएको छ।
प्रदूषणको एन्टी-थेसिस
लकडाउनले कमन ग्लोबल प्रोब्लम को रुपमा प्रतिस्थापित प्रदुषणलाई गायब गरेको छ, यसको ठ्याक्कै एन्टीथेसिस को भुमिकामा।आज जता हेर्यो त्यतै शान्त, स्निग्ध, सुन्दर, स्वच्छ । देख्दा लाग्छ, प्रदूषणको लेभल शून्यमा झरेको छ। सवारीसाधन, कलकारखानाहरु ठप्प हुनुले हानिकारक ग्यास नाइट्रोजन डाइअक्साइड को कन्सन्ट्रेसन कम भएको छ। फलतः प्रदुषणको नामोनिशान छैन।
विश्व स्वास्थ्य संगठन अनुसार प्रदुषणका कारण दैनिक रुपमा ११११ जनाको मृत्यु हुन्छ, जुन धेरै हदसम्म निवारण भएको छ। फोर्ब्स पत्रिकामा प्रकाशित स्टान्डफर्ड युनिभर्सिटीको एक अध्ययनअनुसार पछिल्लो एकमहिनामा प्रदुषण नहुनुले चीनमा मात्र ७७,००० को ज्यान जोगिएको छ, जुन अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाएको सङ्ख्याको १८ गुणाभन्दा बढी हो।
दिल्ली जल बोर्डका उपाध्यक्ष राघव चडाकाअनुसार भारतको विख्यात यमुना नदिको पानीको क्वालिटीमा सकारात्मक असर परेको छ। बनारस हिन्दू विश्वविद्यालयका प्रोफेसर डा. पि.के. मिश्राले गंगा नदिको पनीको क्वालिटीमा पनि ४० देखि ५० प्रतिशत सुधार भएको छ। नेपालको बाग्मती नदी पनि सफा देखिन थालेको छ। हिमालहरु देखिन थालेका छन्। ती नदीहरुका फोटोहरु सोशल साइटमा अहिले भाइरल छन् , जसले अरु केही होइन फ्युचर पोटेन्सियल उजागर गर्दैछ। उर्जा थप्ने काम गरेको छ।
नो क्यापिटालिस्ट , नो कम्युनिष्ट
आज हामी संसारभरका मानिसहरु, को गरिब, को धनी, को उच्च, को निचको अवधारणाबाट माथि उठेका छौं। सबैले एकै नियम र अनुशासन मान्न तयार भएका छौं। सबैले एक अर्काका लागि प्रार्थना गरेका छौं। आफ्नो कारणले अरूलाई संक्रमण नहोस् भनेर सचेत छौं। विश्व स्वास्थ्य संगठनले दिएका अधिकारिक सूचना र सुरक्षाका उपायलाई संसारभरिका मानिसले एकसाथ पालना गरेका छौं।
हामीले आजसम्म अवमूल्यन गर्दै आएका प्रकृतिका उपहार, अस्तित्वको कृपा, मानव सहयोग सबैप्रति आज धन्यभागी भएका छौं। धनी के हो, गरिब के हो, सम्पन्नता र विपन्नता सब समानरूपमा देख्न थालेका छौं। जीवनको वास्तविकता, चाहना र जीवन बाँच्ने तरिका आजको समयले बताइदिएको छ। हामीलाई चाहिएको केवल स्वस्थ जीवन र सुरक्षित वातावरण रहेछ, यसको व्यवस्थापनमा मात्र कुशलता हासिल गर्न सके मानवीय गुणवत्ता झल्किने रहेछ, यसलाई बोध गर्न सकेका छौं आज हामीले। कम्युनिष्ट को हो , पुँजीपति को हो, राजनीति के हो भन्ने सोचबाट पृथक् भएका छौं। केही अपवादबाहेक संसारलाई परिवारको रुपमा एकजुट हुनुपर्छ र विश्वको प्रोस्परिटी का निम्ति हातेमालो गर्नुपर्छ भन्ने मेसेज प्रवाह भएको छ।
निष्कर्ष
लकडाउनको पिरियड एउटा अवसर हो, यो गुड न्यूज हो, आफुलाई निखार्ने समय हो। संसारिक मोहबाट अलग भएर फरक शैलीबाट आफ्नो जीवन कोर्ने ऐतिहासिक अवसरको रुपमा यसको उपयोग गर्न सक्नुपर्छ।
अभिभावकहरुले यसरी बन्दाबन्दीमा केही काम छैन भनेर हतास भई महामारीका बारेमा फैलिएका अफवाहमा भुल्नुभन्दा बालबच्चासँग उनीहरूका गतिविधिमा संलग्न भई बच्चालाई जीवनोपयोगी तथा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने सुनौलो अवसर बनाउनु बुद्धिमानी हुन्छ । बच्चालाई यतिखेर सिकाएका तथा उनीहरूसँग बिताएका क्षणले अभिभावक स्वयंलाई तनावपूर्ण महामारीको अवस्थामा साइकोथेरापी हुनुका साथै बच्चाको भावी जीवनमा स्मरणीय र जीवनको अमूल्य निधिका रूपमा बन्दाबन्दीको समय अङ्कित हुन सक्दछ । उपर्युक्त गतिविधि गर्न सके बन्दाबन्दी घरभित्रै रमाइलो र दुई पुस्ताबीच सांस्कृतिक संस्कार हस्तान्तरणको स्वर्णिम सेतु बन्न सक्नेछ ।
कोरोनासँग लड्न यतिबेला समग्र विश्वले स्रोत, साधन र मानवीय जनशक्तिको वैज्ञानिक व्यवस्थापन गरी उच्चतम परिचालन गरिरहेका छन्। नेपालले पनि सोहीअनुसार लजिकल वार गरेर मात्रै कोरोना महामारीमा विजयी हासिल गर्न र संकटबाट पार पाउन सक्छ ।