काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरूलाइ इमरजेन्सी सेवा नराेक्न निर्देशन दिएकाे छ। यससँगै जटिल अवस्थाका बिरामी र दिर्घ रोगीलाई चाहिने अत्यावश्यक सेवा सुचारु गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। कतिपय अस्पतालले कोरोनाको त्रासले इमरजेंसी सेवा नदिएको कुरा बाहिर आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
अहिलेसम्म पीसीआर परीक्षणबाट ८ हजार ४ सय १४ र आरडीटी किट परीक्षणबाट २५ हजार १ सय ४८ जनाको नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर ३३ हजार ५ सय ६२ जनाको कोभिड-१९ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनले गत २४ घन्टामा ३ सय २४ वटा पिसिआर परिक्षण र ३ हजार १९ वटा आरडीटी परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए।
हालसम्म संक्रमितहरुको संख्या ३१ जना रहेको छ। जसमा ४ जना पूर्णरूपले निको भएर घर फर्कीसकेका छन्। २७ जना संक्रमितहरु विभिन्न अस्पतालमा उपचारत छन्। र सबैको स्वास्थ्यस्थिति सामान्य रहेको प्रवक्ता देवकाेटाले बताए।
सबै जिल्लाहरुमा र्यापिड टेस्ट किटबाट परिक्षण कार्य शुरु भईसकेको छ। प्रदेश नं. १ मा हालसम्म २ हजार ३ सय ४९ वटा, प्रदेश नं. २ मा ३ हजार २ सय ३८ वटा, बागमती प्रदेशमा ४ हजार ६ सय ७६ वटा, गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१ वटा, प्रदेश नं. ५ मा २ हजार ३ सय २४ वटा, कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ वटा र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ७८ वटा र्यापिड टेस्ट किटबाट परिक्षण भएको उनले जानकारी दिए।
मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म देशभरका क्वारेन्टिनमा ५ हजार ९ सय ३६ व्यक्ति छन् भने आइसोलेसनमा १ सय ११ जना छन्। उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर १ सय ७ जना छन्। त्यस्तै मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २ हजार २ सय ८९ जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ। यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्ये हालसम्म २ सय ६ जनालाई मन्त्रालयले ‘रेड जोन’मा राखेको छ।