इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए। ४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ। नदाफको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ भने पक्राउ गरिएका सञ्चालकहरुको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। रासस