काठमाडौं - गत २४ घन्टामा थप एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
संक्रमण देखिएका व्यक्ति ३३ वर्षका पुरुष हुन्। उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो। संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्। उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तीहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा भइरहेको उनले बताए।
अहिलेसम्म पीसीआर परीक्षणबाट ८ हजार ७ सय ६३ र आरडीटी किट परीक्षणबाट २७ हजार ९ सय ५६ जनाको नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर ३६ हजार ७ सय १९ जनाको कोभिड-१९ परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनले गत २४ घन्टामा ३ सय ३३ वटा पिसिआर परिक्षण र २ हजार ८ सय ८ वटा आरडीटी परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए।
सबै जिल्लाहरुमा र्यापिड टेस्ट किटबाट परिक्षण कार्य शुरु भईसकेको छ। प्रदेश नं. १ मा हालसम्म २ हजार ६ सय २० वटा, प्रदेश नं. २ मा ३ हजार ५ सय ९८ वटा, बागमती प्रदेशमा ५ हजार १ सय ५७ वटा, गण्डकी प्रदेशमा ४ हजार १ सय ८३ वटा, प्रदेश नं. ५ मा २ हजार ४ सय ८३ वटा, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ वटा र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ वटा गरि हालसम्म २७ हजार ९ सय ५६ वटा र्यापिडटेस्ट किटबाट परिक्षण भएको उनले जानकारी दिए।
मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म देशभरका क्वारेन्टिनमा ७ हजार ६७ जना व्यक्ति छन् भने आइसोलेसनमा १ सय ७ जना छन्। उपत्यकाभित्र ६ जना र उपत्यका बाहिर १ सय १ जना छन्। त्यस्तै मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २१ हजार ५ सय ६६ जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ। यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्ये हालसम्म २ सय ६७ जनालाई मन्त्रालयले ‘रेड जोन’मा राखेको छ।