खलङ्गा– जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाले राहत वितरण शुरु गरेका छन्। कोभिड–१९ का कारण देश लकडाउन भएपछि काम गर्न नपाएका र आफ्नो खेतबारीमा उत्पादित अन्नले खान नपुग्नेहरुको लागि राहत वितरण कार्य शुरु गरिएको हाे।
कोरोना सङक्रमणबाट बचाउन सरकारद्वारा घोषित लकडाउनमा काम गर्न नपाएर हातमुख जोड्न ४२३ घरधुरीलगायत गाउँ कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार वडास्तरबाट विपन्न वर्गको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिने सिञ्जा गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन्।
गाउँपालिकाभित्र एकदेखि चारजनाको परिवारलाई ३० किलो चामल, पाँच पाकेट नुन, दुई पाकेट तेल, पाँचदेखि छ जनाको परिवारलाई थप सात किलोका दरले चामल, पाँच पाकेट नुन, तीन पाकेट तेल, सातदेखि १० जनाको परिवारलाई ६० किलो चामल, पाँच पाकेट नुन, चार पाकेट तेल, १० जनाभन्दा बढी सदस्य भएका घरपरिवारलाई ९० किलो चामल, पाँच पाकेट नुन, पाँच पाकेट तेल वितरण गरिने अध्यक्ष योगीले बताएका छन्। पालिकालाई उच्चस्तरको मास्क ५० थान, थर्मलगन ११ थान र पिपिइ सेट १५ थान आवश्यक रहेकोले सहयोग दातालाई सहयोगका लागि अपिल गरिएको गाउँपालिकाले जनाएको छ।
सिञ्जा गाउँपालिकाले ५०५ घरधुरीलाई अति गरिब पहिचान भएका र यहाँका विकास निर्माणको काममा खटिएका श्रमिक ज्यालादारी मजदुरी गर्ने परिवारलाई राहत वितरण एक हप्ताभित्र गरिने पालिका अध्यक्ष देवलसिंह रावलले बताएका छन्। सो गाउँपालिकाले ८०० क्विन्टल चामलको खाद्य बैंक पनि सुचारु गरेको अध्यक्ष रावलले बताए।
चन्दननाथ नगरपालिकाले वडा नं ५ का २०० विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ। अरु वडाले विपन्न घरपरिवार पहिचान तथ्याङ्क सङ्कलन गरेपछि मात्र राहत वितरण गरिने नगरपालिकाले जनाएको छ। तातोपानी गाउँपालिकाले २०० क्विन्टल चामल खाद्य संस्थानबाट खरिद गरी पालिकामा खाद्य बैंक स्थापना गरेको छ। सबै वडाले गरिब घरधुरी पहिचान गरेर मात्र राहत विरण हुने अध्यक्ष नवराज न्यौपानेले बताए।
पातारासी गाउँपालिकाले १७० क्विन्टल चामल र १०० क्विन्टल नुन खाद्य संस्थानबाट खरिद गरिसकेकाले गाउँकार्यपालिकाको निर्णयानुसार गरिब घरपरिवार सङ्ख्या पहिचान गरेर मात्र राहत वितरण हुने अध्यक्ष लछिमान बोहोराले बताएका छन्। त्यस्तै कनकासुन्दरी गाउँपालिकाले राहतका लागि विपद् कोषमा खडा गरेको रु ६० लाखले खाद्य सामग्रीहरु अवाश्यकतानुसार खरिद गर्ने जनाएको छ। हिमा गाउँपालिकाले रु ४७ लाखको चामल यहाँका सबै घरधुरीलाई ३० किलोको दरले राहत वितरण गरिसकेको छ। यहाँका आठ स्थानीय तहमध्ये हिमाले सबैभन्दा अगाडि राहत वितरण गरेको हो। रासस