एजेन्सी- अब अमेरिकाको न्यूयोर्कमा अनलाईन विवाह गर्न सक्ने भएको छ। न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुओमोले अनलाइन विवाहलाई अनुमति दिने पत्रमा हस्ताक्षर गरी भिडियो कन्फेरेन्समार्फत पनि विवाह गर्न सक्ने र प्रमाणपत्रको लागि आवेदन दिन सक्ने निर्देशन जारी गरेका हुन्।
सो जानकारि उनले आफ्नो ट्वीटरमार्फत पनि दिएका छन्।

लकडाउनका कारण धेरै विवाहहरू रद्द भए पछि यो निर्णय आएको हो। विश्वभर माहमारिको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिका सबै भन्दा बढी प्रभावित भएको छ भने न्यूयोर्क सहरमा सबै भन्दा बढी मानिसको मृत्यु भएको छ। याे सँगै न्यूयोर्क राज्य सरकारले लकडाउनको अवधि आगामी मे १५ तारिखसम्म लम्ब्याएको छ।
अमेरिकामा संक्रमितको संख्या ८ लाख २६ हजार नाघेको छ भने ४५ हजार ३ सय ७५को मृत्यु भएको छ। न्युयोर्क स्वास्थ्य विभागका अनुसार हालसम्म न्युयोर्क सहरमा मात्रै करिब १ लाख ३९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ र १० हजार ६ सय ५७ जनाको मृत्यु भएको छ।
यसरि अनलाईन विवाहलाई मान्यता दिने न्यूयोर्क एक मात्र राज्य भने होइन। हालै संयुक्त अरब एमिरेट्स (युएई) ले पनि अनलाईन विवाह गर्न पाउने घोषणा गरेको छ। त्यसको लागि आवश्यक कागजात पेश गर्न वेबसाइट बनाइरहेको बीबीसीमा उल्लेख छ।
त्यस्तै संयुक्त राज्यको कोलोराडो राज्यमा पनि अनलाईन विवाह लागू गरिएको छ। जहाँ विवाह गर्न चाहाने जोडीहरूलाई अनलाइन (भिडियो कन्फेरेन्समार्फत) विवाह गरि लाइसेन्सकोको लागि आवेदन दिन अनुमति दिइएको छ।