काठमाडौं– बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि पाँच दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ। राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा बुधबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा शुरु गर्ने विधि रहेकामा कोरोना भाइरस सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्थगन गरिएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताएका छन्।
वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु हुने परम्परा छ। चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्ने परम्परा छ। जात्रा स्थगित गरिए पनि घर, टोल सफाइ भने गरिएको छ।
जात्रा स्थगन गरिए पनि गुठी र नित्य पूजा हुने नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिएका छन्। वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरूपमा सहभागी भएर सिन्दूरजात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ।
यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताएका छन्। कान्तिभैरव जात्राबाट नै कान्तिपुर नामाकरण भएको त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्राध्यापक मिलनरत्न शाक्यले आफ्नो पुस्तकमा भैरव परम्पराको उल्लेख गर्दै जात्राको विषयमा स्नातकोत्तर शोध गर्नुभएका स्थानीयवासी वटुराम भण्डारीले जानकारी दिएका छन्। रासस