साँखु– कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शङ्खरापुर अस्पतालले अस्पताभित्रको सम्पूर्ण व्यवस्थापन नगरपालिकालाई दिएको छ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणसँगै नागरिकमा त्रास फैलिदै गएपछि यसको रोकथाम तथा उपचारका लागि नारायणटारस्थित शङ्खरापुर अस्पतालले आफ्नो जिम्मेवारी गोकर्णेश्वर नगरपालिकालाई जिम्मा दिएको हो।
अस्पताल र नगरपालिकाबीच सम्झौतापछि आगामी दुई महिनाका लागि उक्त अस्पताललाई नगरपालिकाले निःशुल्करुपमा अन्तरिम नगर अस्पतालका रूपमा प्रयोग गर्ने छ। सम्झौतापछि शङ्खारापुर अस्पतालको नाम ‘गोकर्णेश्वर शङ्खारापुर विशेष नगर अस्पताल’ राखिएको छ। अस्पतालका निर्देशक डा रमेश ढकालले कोरोना भाइरसबाट उत्पन्न महामारीलाई ध्यानमा राखी नगरवासीको स्वास्थ्य समस्यालाई व्यवस्थित गर्न सहयोग पुगोस् भन्ने हेतुका साथ सहकार्य गरेको बताएका छन्। नागरिकको उपचारलाई ध्यानमा राख्दै नगर अस्पतालले ओपिडीलगायत सबै किसिमका सेवा दिने जानकारी दिएको छ।
नगरपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने, आइसोलेसनकक्ष, मेडिकल सपोर्ट टिमलगायत सेवा दिने भएको छ। स्थानीय तहमा नागरिकले आफ्नो स्वास्थ्यको सरल उपचारको महसुस गर्न पाउन् र कोरोना भाइरसको व्याप्त महामारीको अवस्थामा सहयोग पुगोस्भन्ने उद्देश्यले नगर अस्पताल सञ्चालन गर्न लागिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताएका छन। नगर अस्पतालको सम्झौताका लागि नगरपालिकाका तर्फबाट नगरप्रमुख सन्तोष चालिसे र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि सापकोटाले हस्ताक्षर गरेका छन्। रासस