प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रदेशस्तरमा छलफल शुरु गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर काठमाडाैंमा आयोजना गरिएको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार, लकडाउन र अध्यादेशका बारेमा सांसदहरुलाई स्पष्ट गर्न छलफलको आयोजना गरिएको हो । छलफल बुधबार मध्यान्ह सुदुरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट शुरु गरिएको छ । सुदुरपश्चिम पछि प्रदेश १ का सांसदहरुसँग छलफल भइरहेको छ । पार्टीका दुवै अध्यक्षले सातै प्रदेशका सांसदहरुसँग आज र भोली छलफल गर्ने थापाले जानकारी दिए ।
बुधबार भएको पहिलो छलफलमा प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण भारतसँगको नाकाबाट हुने आवत जावत तत्काल नखुल्ने सांसदहरुलाई बताएको सांसद निरुदेवी पालले जानकारी दिईन्। ओलीले कोरोनाको संक्रमणको अवस्था विश्लेषण गरी लकडाउन लम्ब्याउन सकिने संकेत समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले आवस्यक परेको भएर मात्र अध्यादेश ल्याउनु परेको भन्दै सांसदहरुलाई आस्वस्त पार्ने कोसिस गरे । उनले अध्यादेशको बारेमा शंका नगर्न पनि अनुरोध गरेको सांसद पालले बताइन् ।
सुदुरपश्चिमका सांसदहरुसँगको छलफलमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड ढिला गरी पुगेका थिए । प्रधानमन्त्री ओलीले सांसदहरुलाई आफूले बताएको कुरा प्रचण्डलाई सुनाएका थिए । सांसदहरुसँगको छलफलमा नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाm तथा पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रमुख सचेतक देव गुरु पनि सहभागि छन् ।