कैलालीको लम्की चुहा नगरपालिका १ घर भएकी ६५ वर्षीया महिला वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकि थिईन्। कोरोना भाइरसको महामारीका कारण चैत १० गतेदेखि लामो दुरीका सवारी आवागमन बन्द हुने भएपछि चैत ९ गते उनी आफ्नो घर लम्की पुगीन्।
वीरगञ्ज नाकाबाट आएको हुनाले स्थानियबासीले कोरोनाको आशंका गरेपछि उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखियो। चैत १२ गतेदेखि १७ दिन क्वारेण्टीनमा बसेकी उनलाई क्वारेण्टीनमै रहँदा कोरोनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ परिणाम आएपछि घर जान दिइयो।
आरडिटी परिक्षणमा कोरोना नदेखिएपछि मनमा रहेको शंका र डर पनि हट्यो, अनि ढुक्कले घर गइन्। तर कथा यहिं सकिएन। उनको घाटीबाट लिइएको स्वाबको नमुना पिसिआर विधिबाट काठमाडौंमा परिक्षण गरियो। जसले उनलाई नयाँ बर्षकै दिन कोराना संक्रमण भइसकेको सुचना दियो। अहिले उनी कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छिन्।
६५ वर्षकै बाग्लुङ्गकी अर्की महिलाको कोरोना व्यथा भने बेग्लै छ। भारतमा तिर्थ गएर फर्केकि काठेखोला गाउँपालिका घर भएकी उनको चैत ३० गते आरडिटीबाट कोरोना परिक्षण गरियो। जसले उनलाई कोरोना संक्रमण देखाइदियो।
आरडीटीमा कोभिड १९ को एण्टीबडी देखिएपछि उनको नमुना पिसिआर परीक्षणका लागि पोखरा पठाइयोे। पोखराको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणले भने उनमा कोरोनाको संक्रमण नभएको परिणाम देखायो अर्थात पिसिआरको रिपोर्ट नेगेटिभ आयो।
कोरोना परिक्षणमा भरपर्दो मानिएका दुइवटा विधिका परिणाम ठ्याक्कै उल्टो आएको उनीहरुमात्र होइनन्। त्यसपछि पनि यस्ता थुप्रै घटनाहरु सार्वजनिक भए, जसले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षणको विश्वसनियताबारे नै गम्भिर बहसको शुरुआत गरेको छ।
दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भयो। उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनमा कोरोना संक्रमण भएको पाइएपछि परिवारका सबै सदस्यलाई १५ गते धनगढी रङ्गशालामा बनाइएको क्वरेण्टीनमा ल्याइयो। उनीहरुमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएपछि घर पठाइयोे। तर पिसिआर विधिबाट परिक्षण गर्दा तीन दिनपछि एक जना आफन्तमा कोरोनाको संक्रमण देखियो।
त्यस्तै चैत ४ गते बेलायतबाट आएका एकै परिवारका ३ जनामा बैशाख २ गते र्यापिड टेष्ट गर्दा नतिजा पोजेटिभ देखियो। सनसिटि अपार्टमेन्टमा बस्दै आएका उनीहरुमा कोरोनाको र्यापिड टेष्ट पोजीटिभ देखिएपछि सनसिटि अपार्टमेन्टको माहोल त्रासपूर्ण भयो। तीनै जनालाई पाटन अस्पताल भर्ना गरियो। सनसिटी अपार्टमेन्ट सिल गरियो।
तर पिसिआरबाट परिक्षण गर्दा भने २ जनामा मात्रै कोरोनाको संक्रमण पुष्टि भयो।
र्यापिड टेष्टका कोरोना नदेखिएपछि क्वारेन्टीनमा बसेका मानिसहरुलाई धमाधम घर पठाइयो, तर र्यापिडमा नेगेटिभ आएकाहरु मध्ये कतिपयको परिणाम पिसिआरमा पोजीटिभ देखिन थालेपछि त्रास बढेको छ। कोरोना छैन भन्दै क्वारेनटाईबाट घर फर्काएका सबैमा कोरोना देखियो भने के होला ? भन्ने प्रश्नले आमसमुदाय त्रषित बन्न पुगेका छन्।
र्यापिड टेष्टमा नेगेटिभ देखिएका मानिसहरु गाउँ फर्किसके, गाउँका मानिसहरुसँग सम्पर्कमा पनि आइसके। यदि अब उनीहरुको पिसिआर टेष्ट पोजीटिभ आयो भने के होला ? यो प्रश्नले अहिले सबैको मन चिसो बनाइदिएको छ।
सरकारले समुदायस्तरमा नै परीक्षणको दायरा बढाउने भन्दै प्रत्येक प्रदेशमा पाँच हजारको दरले आरडीटी किट पठाएको छ। तर, किटले बारम्बार नेगेटिभ देखाउने र टेकुमा दोर्होयाएर परीक्षण गर्दा पोजिटिभ देखिनुले किटको विश्वसनीयतामाथि नै प्रश्न उठ्नुका साथै विभिन्न खालका टिका टिप्पणीहरु सुन्नमा आईरहेका छन्।
‘आरडीटी’ परीक्षणलाई लिएर सर्वसाधारणहरु किटमाथि शंका गर्न बाध्य छन्।
नेपालमा र्यापिड डाइग्नोष्टिक टेष्ट किट प्रयोगमा आउनुभन्दा अगाडि पीसीआर विधीबाट मात्र नमुना परीक्षण गरिन्थ्यो। पीसीआरबाट मात्रै सम्भव नहुने भएपछि सरकारले आरडीटी टेस्ट प्रयोगमा ल्याएको हो। सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार ‘पीसीआर’ र आरडीटी परीक्षण नै संक्रमण भए÷नभएको पत्ता लगाउने विधि हुन्।
“तर पीसीआर परीक्षणले ५० देखि ८० प्रतिशत नतिजा देखाउन सक्ने र आरडीटीले त्योभन्दा कम नतिजा देखाउने हुँदा समुदायस्तरमा परीक्षण गराउँदा पीसीआर र आरडीटीलाई सँगै लैजानुपर्छ”, उनी भन्छन्। जोखिम अझै बाँकी रहेकाले परीक्षणको दायरा बढाउँदै लैजानुपर्ने उनको सुझाव छ। ‘लकडाउन’ भएको लामो समयपछि संक्रमितको संख्या बढ्दै गएकाले सरकारले निकै सजगरुपले परीक्षण बढाउनु पर्ने उनी बताउँछन्।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र्यापिड टेस्टमा नेगेटिभ आउनु भनेको कोरोना छैन भन्ने सर्टिफिकेट नभएको बताउछन्। यता जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भने नेपालमा अहिले समुदायमा परीक्षण गर्नुको उद्देश्य कोरोना संक्रमण छ कि छैन भन्ने पत्ता लगाउनु भएकाले एन्टीजेन बेस्ड र्यापिड टेस्ट उपयुक्त हुने बताउँछन्।
जबकी नेपालमा प्रयोग भइरहेको एन्टीबडी बेस्ड कीट हो, जुन रोग पहिचानका लागि नभई निगरानीका लागि काम लाग्ने उनी बताउँछन्। उनका अनुसार यसले कोरोना लागेको ३/४ दिन लक्षण नदेखाउन सक्छ भने अर्कोतर्फ, निको भएको ६ महिनासम्म पनि पोजेटिभ देखाउन सक्छ।
आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठी भने अहिले र्यापिड टेस्ट गर्नु भन्दा सम्भव भएसम्म पीसीआर टेस्टलाई फोकस गर्नुपर्ने बताउछन्।
के हो त र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी)?
मानिसको शरीरमा कोरोनाभाइरस भए नभएको पत्ता लगाउने प्रमुख दुइ विधिमध्ये एक हो र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी)। कुनै पनि रोग छोटो समयमा नै पत्ता लगाउन सकिने जाँचलाई र्यापिड टेष्ट किट भनिन्छ। एकैपटक ठूलो समुह वा समुदायमा संक्रमण फैलियो भने जाँचका लागि र्यापिड टेष्ट किटको प्रयोग गरिन्छ। र्यापिड टेस्ट रगतबाट परीक्षण गरिने विधि हो।
आरडीटी साधारण परीक्षण विधि हो। यसका लागि छुट्टै प्रयोगशाला आवश्यक पर्दैन। यो विधिबाट १५ मिनेटमै परीक्षण गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा बताउँछिन्। अहिले यो र्यापिड टेस्ट नेपाल लगायत अमेरिका, युरोपियन युनियन, अष्ट्रेलियाले पनि प्रयोगमा ल्याएका छन्। छिमेकी मुलुक भारतले पनि आफ्नो भर्खरै प्रकाशित टेष्टिङ मापदण्डमा लक्षण देखिएका व्यक्तिहरुमा र्यापिड किटबाट परीक्षण गर्ने उल्लेख गरेको छ।
चिकित्सकहरुका अनुसार, र्यापिड टेस्ट एक किसिमको ‘सेरोलोजिकल टेस्ट’ हो। जसले रगतमा रहेको ‘एन्टीबडीज’लाई पत्ता लगाउँछ। मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गरेको छ भने त्यसविरुद्ध एन्टीबडीज बनाउन कम्तीमा पनि पाँच दिन लाग्न सक्छ।
एन्टीबडीज कुनैपनि भाइरस या व्याक्टेरियाविरुद्ध शरीरले बनाउने एक किसिमको प्रोटिन हो। यो अवधिमा र्यापिड टेस्ट गर्दा कोरोना संक्रमण ‘नेगेटिभ’ देखिन सक्छ। तर, स्वाब परीक्षणमा भने ‘पोजिटिभ’ देखिन सक्ने चिकित्सकहरु बताउँछन्।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन कोरोना संक्रमण पुष्टि गर्न र्यापिड टेष्टमा मात्र पूर्णरुपमा भर पर्न नहुने बताउछन्।
पिसिआर विधि
पिसीआर विधि भनेको घाँटीमा रहेको खकारको पोलिमर्स चेन रियाक्सनबाट परीक्षण गर्ने विधि हो। पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ। चिकित्सकहरुका अनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए नभएको ५० देखि ८० प्रतिशत पत्ता लगाउन सक्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोरोना भाइरस भएनभएको परीक्षण गर्ने विश्वस्तरीय विधि नै पीसीआर हो। यो जटिल र लामो प्रक्रिया हो। यसको परीक्षण गरी रिपोर्ट दिन २४ देखि ७२ घण्टा लाग्ने गरेको छ। यसमा संक्रमितको नमुनाका रूपमा संकलन गरिने स्वाबमा भाइरसको जिनको टुक्राको परिक्षण गरिन्छ।
झाका अनुसार, पिसिआर विधिमा भाइरसको वंशाणुगत अंश (जेनेटिक मटेरियल) छ कि छैन भन्ने परीक्षण हुन्छ। त्यो नमुनामा जिनको टुक्रा छ भने त्यस ठाउँमा भाइरस पनि बसेको रहेछ भन्ने प्रमाणित हुन्छ। त्यस्तै रोग प्रतिरोधात्मक शक्तिका आधारमा कतिपयमा चाँडै भाइरस पहिचान हुन सक्ने हुन्छ भने कतिपय व्यक्तिमा भने कुनै व्यक्तिमा ३ देखि ४ सातासम्म लाग्छ।
सरकारले कोरोना भाइरस संक्रमण पत्ता लगाउन ७७ वटै जिल्लामा र्यापिड टेस्ट सुरू गरिसकेकाे छ। तर, विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले भने यस्तो परीक्षण विश्वसनीय हुन नसक्ने जनाएको छ। किटहरूको गुणस्तरमा प्रश्न उठेकाले नतिजा भरपर्दो हुन नसक्ने डब्लुएचओको भनाइ छ।
कोरोना भाइरस देखा परेपछि नै विश्वका विभिन्न वैज्ञानिकले परीक्षणका विभिन्न विधिबारे अनुसन्धान जारी राखेका छन्। भाइरससँग लड्नका लागि शरीरले बनाउने एन्टिबडी पनि परीक्षण गरी कोरोना पत्ता लगाउन सकिने सम्बन्धी नयाँ विधिको विकास भइरहेका छन्।
किन आउँछ त र्यापिड टेस्ट र पीसीआरमा उल्टो परिणाम
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोरोना भाइरस (कोभिड–१९) मानिसको शरीरमा प्रवेश गरेको अवस्थामा शरीरमा दुई वटा एन्टिबडी बन्छ। सुरुमा बन्ने भनेको आईजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आईजीजी (इम्युनोग्लोबिन जी) हो। आईजीएम रोग लागिसकेपछि तीनदेखि पाँच दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ।
यो व्यक्ति अनुसार फरक हुन्छ। आईजीएम झन्डै दुई तीन साता शरीरमा रहन सक्छ। एक महिनासम्ममा आईजीएम नेगेटिभ हुन्छ भने आईजीजी लामो समयसम्म पनि शरीरमा रहिरहन्छ। भर्खरै मानिसको शरीरमा यो भाइरस प्रवेश भए र्यापिड टेस्ट किटबाट जाँच गर्दा संक्रमण देखाउँदैन। तर पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिन्छ।
मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गरेको छ भने त्यसविरुद्ध एन्टीबडीज बनाउन कम्तीमा पनि पाँच दिन लाग्न सक्छ। एन्टीबडीज कुनैपनि भाइरस वा व्याक्टेरियाविरुद्ध शरीरले बनाउने एक किसिमको प्रोटिन हो। यो अवधिमा र्यापिड टेस्ट गर्दा कोरोना संक्रमण ‘नेगेटिभ’ देखिन सक्छ। तर, स्वाब परीक्षणमा भने ‘पोजिटिभ’ देखिन सक्छ।
कोरोना संक्रमण भएपनि बलियो प्रतिरोधात्मक क्षमता भएका व्यक्तिबाट अरुमा नसर्न पनि सक्छ। सो समयमा र्यापिड परीक्षण गर्दा कोरोना पोजिटिभ देखिने गर्छ। तर, पीसीआरमा स्वाब परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिन सक्छ। पीसीआर नेगेटिभ हुनुको अर्थ त्यस्ता व्यक्तिले अरुलाई संक्रमण सार्न सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ।
कोरोना संक्रमण भएको एक सातापछि पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आउँछ भने र्यापिडमा पनि पोजेटिभ देखिने हुन्छ। दुवै परीक्षणमा कोरोना संक्रमण देखिन्छ। तर, तीन चार सातापछि कोरोना भाइरस शरीरबाट हराइसकेको अवस्थामा पीसीआर टेस्ट गर्दा भाइसको रिर्पोट नेगेटिभ देखिएपनि र्यापिड टेस्ट पोजेटिभ आउने सम्भावना रहन्छ। एन्टिबडीको परीक्षणका विधिहरू विभिन्न छन् जसमा एक एलाइजा पनि हो। त्यस मेसिनले परीक्षण गर्न ४ देखि ६ घण्टामा परीक्षणको नतिजा दिने गर्छ।
निश्कर्ष
हालसम्म आइपुग्दा कोरोना संक्रमणको भरपर्दो परिक्षण भनेको पिसिआर विधि नै हो। र्यापिड टेष्टमा मात्रै भर परेर कोरोना संक्रमण नभएको पुष्टि गर्न सकिने आधार छैन। त्यसैले, कोरोनाको आशंका भएका व्यक्तिलाई र्यापिड टेष्टमा नेगेटिभ नतिजा आयो भनेर क्वारेन्टीन मुक्त गर्न सकिने अवस्था छैन।
त्यसैले पिसिआर मार्फत परिक्षण गर्ने विधिको दायरा फराकिलो बनाउँदै परिक्षणको गति तिब्र पार्न जरुरी छ। यसबाट मात्र कोरोना महामारीविरुद्धको हाम्रो लडाईले विजय प्राप्त गर्न सक्छ।