समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीविच एकिकरणलगत्तै सांसद रेणु यादवको नेतृत्वमा समाजवादी पार्टीका ७ सांसदहरुले पार्टी फुटाउने भएका छन्। यादवसँगै सांसद तथा पुर्वमन्त्री मो. ईस्तिया राई, प्रदिप यादव, कलुदेवी विश्वकर्मा, उमाशंकर अरगरिया, रेणुका गुरुङ र सुरेन्द्र यादवले पार्टी फुटाउने निर्णय गरेका हुन्।
पार्टी नेतृत्वसँग असन्तुष्ट पक्षले बुधबार नै रेणु यादवको काठमाडौंस्थित निवासमा बैठक बसेर यो निर्णय लिएका हुन। उनीहरुले बिहिबार बिहान नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन्।
समाजवादीका १७ मध्ये ७ सांसदले पार्टी फुटाउने तय भएको हो। सरकारले दुई दिन अघि मात्र मन्त्रीपरिषद बैठकमा अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेको थियो।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०् ४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो।
तर, अहिले पनि रेणु यादव नेतृत्वको समुहलाई पार्टी फुटाउन सहज भने हुने छैन्। नयाँ कानुनले पार्टी फुटाउने बाटो सहज बनाएको भएपनि बुधबार नै राजपा र समाजवादीविच भएको पार्टी एकिकरणले बाटो फुटाउने बाटो असहज बनाएको हो।
दुबै पार्टी एक भएको खण्डमा ७ सासंदले मात्र ४० प्रतिसत पुग्दैन्। यो अवस्थामा बिहिबार निर्वाचन आयोगमा एकिकरण गरिएको राजपा र समाजवादी पार्टी वा रेणु यादव नेतृत्वमा गठन हुन लागेको पार्टीमध्ये कुनले पहिला दर्ता गराउछँ त्यसले आगामी बाटो निक्र्यौल गर्नेछ।
समाजवादी फुटाउनकै लागि यो कानुन हतारमा ल्याएको आरोप सरकारमाथी लागिरहेको हुँदा नयाँ पार्टी खोल्न सत्ता पक्षको गतिलो सहयोग हुने राजनितीका जानकारहरुले अड्कल गरेका छन्।