एजेन्सी- विश्वभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने उद्देश्य लिएको अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्स (SpaceX) ले थप ६० वटा साना स्टारलिंक स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ।
उच्चगतिको ब्रोडब्याण्ड कनेक्सन न्यून शुल्कमा प्रदान गर्ने उद्देश्यले स्टारलिंक प्रोजेक्टअन्तर्गत स्पेसएक्सले ती साना स्याटेलाइटहरु पृथ्वीको लो अर्बिटमा राख्ने गरि फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरेको हो।
कम्पनीले हालसम्म ४ सय २२ वटा स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याएको छ। यो सगैं स्पेसएक्स विश्वकै सबैभन्दा धेरै स्याटेलाइटहरु सञ्चालन गर्ने ठूलो कम्पनी बन्न सफल भएको छ।
कम्पनीले यसै वर्षकाे अन्त्यसम्ममा उत्तर अमेरिका र क्यानाडामा सेवा सञ्चालन गर्न आवश्यक पर्ने स्याटेलाइटहरू अन्तरिक्षमा पठाउनु आफ्नाे उद्देस्य रहेकाे बताएकाे छ । त्यसपछि मात्र अन्य बजारहरुमा आफ्नो सेवा विस्तार गर्ने कम्पनीकाे लक्ष्य छ।
हालसम्म १२ हजार साना स्याटेलाइटहरु अन्तरिक्षमा राख्न अनुमति पाएकाे स्पेसएक्सले ४२ हजारसम्म साना स्याटेलाइटहरु अन्तरिक्षमा पुर्याउने लक्ष्य लिएकाे छ। स्पेसएक्स बाहेक अन्य दुई कम्पनीहरु वान वेब र अमेजनले पनि अन्तरिक्षमा हजारौं स्याटेलाइटको नेटवर्कबाट विश्वभर ब्रोडब्याण्ड कनेक्सन पुर्याउने योजना लिएका छन्।