काठमाडाैं - राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। बेलायतबाट आएका उनीहरुमा काेराना संक्रमण देखिएपछि बैसाख १ गते पाटन अस्पताल भर्ना गरिएकाे थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र ८१ वर्षीया वृद्धा बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएकाे जानकारी दिए। पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि करिब १० दिनको अस्पताल बसाइपछि उनीहरुलाई बिहिबार डिस्चार्ज गरिएको हाे।
चैतकाे पहिलाे साता नेपाल आएर सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरुमा बैसाख १ गते काेराेना संक्रमण देखिएकाे थियाे। हालसम्म नेपालमा कोरोना संक्रमित भएका ४७ जनामध्ये ९ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मन्त्रालयकाे तथ्याङक अनुसार हालसम्म ४३ हजार २ सय ७७ जनाको कोरोना परीक्षण भइसकेको छ। अहिले १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा छन् भने ८६ जना आइशोलेशनमा छन्।